दाङ, १८ पुस ।
गोर्खा मावि तुलसीपुरले आज १४ औँ वार्षिकोत्सव मनाएको छ । विद्यालयले विभिन्न कार्यक्रम गरेर १४ औँ वार्षिकोत्सव मनाएको हो । गोरखा ग्रुपका संस्थापक अध्यक्ष मानबहादुर बुढाको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो।

त्यस अवसरमा नगरप्रमुख खड्काले दक्ष जनशक्ति उत्पादनमा गोर्खा माविले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।
उहाँले गोर्खा माविले सामुदायिक विद्यालयसंग भगिनी सम्बन्ध स्थापित गरेर सामाजिक उत्तरदायित्वको कामसमेत गरिरहेको बताउनुभयो । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ का अध्यक्ष वर्षात भण्डारीले बालबालिकालाई असल र नैतिकवान बनाउन अभिभावक चनाखो हुनुपर्ने बताउनुभयो । उहाँले विदेश पलायन नहुने विद्यार्थीलाई वडाले आवश्यक सहयोग गर्ने समेत प्रतिवद्धता जनाउनुभयो ।

गोर्खा गु्रपका सिइओ नवल सिं जी.एमले विद्यालयले शैक्षिक उपलब्धि हासिल गर्न शिक्षक, विद्यार्थी र अभिभावक गरी त्रिकोणात्मक सम्बन्ध बलियो हुनुपर्ने बताउनुभयो । उहाँले दक्ष जनशक्ति उत्पादन गर्न शिक्षकलाई पनि दक्ष बनाउन निरन्तर लागिरहेको बताउनुभयो । विद्यालयका प्राचार्य बिजय जि.एमले विद्यालयको शैक्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको हो ।

उहाँले विद्यालयमा अहिले तीन हजार बढी बालबालिकाले अध्ययन गरिरहेको बताउनुभयो । विद्यालयले तुलसीपुर-३ मा रहेको प्रतापकोट विद्यालयसंग भगीनी सम्बन्ध स्थापित गरेर हरेक वर्ष शैक्षिक सामग्रि सहयोग गर्ने गरेको उहाँले बताउनुभयो ।
गोर्खा मावि तुलसीपुर वि.स. २०६८ सालमा स्थापना भएको हो । कार्यक्रमको सहजीकरण गोर्खा मोडेल कलेजका प्रमुख पूर्ण विक्रम डाँगी र प्रावि संयोजक कमल भण्डारीले गर्नुभएको हो । वार्षिकोत्सवको अवसरमा विद्यार्थीले विज्ञान सामग्रि प्रदर्शन गरेका थिए भने विभिन्न समुदायका भेषभुषा र संस्कृती झल्कने नृत्य प्रस्तुत गरिएको थियो ।
प्रकाशित मिति : २०८१ पुष १८ गते बिहिवार

