२०८३ बैशाख ५ गते शनिवार

दंगीशरणमा दलित जनप्रतिनिधि र विद्यार्थीलाई सम्मानसंगै स्कुल पोसाक वितरण



दाङ,१३ माघ ।
दंगिशरण गाउँपालिका-२ कौवाघारीमा दलित जनप्रतिनिधि तथा दलित अगुवालाई सम्मान र सामुदायिक विद्यालयमा प्राथमिक तहमा अध्ययनरत दलित विद्यार्थीहरूलाई स्कुल पोसाक वितरण गरिएको छ।

वार्षिक कार्यक्रममा समावेश दलित लक्षित कार्यक्रम अन्तर्गत दंगीशरण गाउँपालिका-२ को आयोजना तथा दलित एकता संजालको व्यवस्थापनमा कार्यक्रम भएको हो ।

वडा नम्बर २ का दलित महिला वडा सदस्य अन्जना विकको अध्यक्षता एवं राष्ट्रिय दलित आयोगका अध्यक्ष देबराज विश्वकर्माको प्रमुख आतिथ्यता तथा पालिका अध्यक्ष शम्भु गिरी र दुई नम्बर वडा अध्यक्ष डम्बर खत्रीको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय दलित आयोगका अध्यक्ष विश्वकर्माले दलित समुदायको सशक्तीकरण र उनीहरूको अधिकारको संरक्षणको महत्त्वमा जोड दिँदै दलित समुदायको सामाजिक र आर्थिक अवस्थामा सुधार ल्याउनका लागि सरकार र समाजसँगको सहकार्य आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा कार्यपालिका सदस्य कृष्णे कामी, सितारा नेपाली, वडा सदस्य मोहन वि.क, लुमा चौधरी, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष जे.एन सागर,नेकपा एमाले दाङका सदस्य एसोधा शर्मा, नेकपा माओवादी केन्द्रको वडा कमिटी अध्यक्ष दिल बहादुर दमाई, राजाकोट सामुदायिक वन उपभोक्ता समुहकी कोषाध्यक्ष गिता पौडेल,कानुनका विद्यार्थी रञ्जना कामी लगाएतले दलित समुदायको सशक्तीकरणका लागि एकता र सहयोगको खाँचो रहेकोमा जोड दिएका थिए।।

दलित एकता संजालका  सदस्य सिएम विश्वकर्माले वडामा दलितको अवस्था र दलित एकता संजालले दलित परिवारको  संकलन गरिएको  प्रतिवेदन पेश गर्नुभएको थियो ।

कार्यक्रममा कक्षा ५ सम्म अध्ययन गर्ने प्रा.वि कौवाघारीका ५५ जना र मावि मधपुरका १६ जना गरी ७१ जना दलित छात्रछात्रालाई स्कुल पोसाक वितरण गरिएको हो ।

सोही क्रममा दलित जनप्रतिनिधि कार्यपालिका सदस्य कृष्णे कामी, सितारा नेपाली, वडा सदस्य मोहन वि.क र अन्जना विक लगायत दलित समुदायमा योगदान पुर्याउने २२ जना दलित अगुवाहरुलाई सम्मान गरिएको थियो।
संजालका अध्यक्ष मान बहादुर परियारको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव रमेश विकले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०८१ माघ १३ गते आइतवार