२०८२ चैत्र २० गते शुक्रवार

“जाँचपछि गर्भवती भएको रहस्य खुल्यो!”

सक्कली अदालतको झल्को दिने नक्कली बहस


दाङ, १५ माघ ।
एक बालिकाको अचानक महिनावारी रोकिन्छ । जाँच गराउँदा उनी गर्भवती भएको रहस्य खुल्छ ।

१६ वर्ष पनि नपुगेकी बालिकालाई ललाई फकाई गरेर शारिरीक सम्पर्क गरेको अरोपमा एक जना पुरुष पक्राउ पर्छन् । ति व्यक्तिले प्रहरी समक्षको बयानमा आफुले अपराध गरेको स्विकार गर्छन् । तर सहमतीमै भएको भनेर उनले भन्छन् ।

सहमतीमै भएको भनिएपनि उनी नाबालिग हुन् भने त्यसकै पक्ष विपक्षमा बहस हुन्छ । तीन जना न्यायधिसको इजलासमा वादी र प्रतिवादीका तर्फबाट बहस हुन्छ । तर यो घटना सक्कली भने थिएन । अदालतलको झल्को दिलाउने गरी तुलसीपुरमा नक्कली अदालती बहस भएको छ ।

तुलसीपुरमा मेट्रो कलेजका कानुन विषय पढ्ने विद्यार्थीहरूले नाबालिग बलात्कार मुद्दाको नक्कली अदालती बहस प्रस्तुत गरेका हुन् । सक्कली अदालती बहसकै झल्को दिने गरी प्रथम बिष्णु केसी स्मृती मुट कोर्ट प्रतियोगिता गरिएको हो ।

मुद्दामा पक्ष र विपक्षमा तर्क–वितर्क गरियो । बहसका क्रममा तीन जना न्यायाधीशको इजलासमा वादी र प्रतिवादी तर्फका विद्यार्थीहरूले आफ्नो पक्ष प्रस्तुत गरे ।

वादी तर्फबाट नाबालिगताको आधारमा आरोपीलाई दण्ड दिनुपर्ने तर्क गरियो भने प्रतिवादी तर्फबाट सहमतिमा भएको घटना भएकाले सजाय नदिनुपर्ने तर्क गरिएको छ ।

यो नक्कली मुद्दा कानुनी विषय अध्ययन गर्ने विद्यार्थीहरूलाई व्यवहारिक तालिम दिने उद्देश्यले आयोजना गरिएको हो । नक्कली अदालतले वास्तविक न्यायिक प्रक्रियाको झल्को दिने गरी कार्यक्रम सञ्चालन गरिएको कलेज प्रमुख बसन्त आचार्यले बताउनुभयो । बहसका क्रममा विद्यार्थीहरूले कानुनी तर्क, प्रमाणको विश्लेषण र न्यायालयको प्रक्रिया अभ्यास गरेका हुन् ।

कार्यक्रममा न्यायाधीशको भूमिकामा कानुनी क्षेत्रमा अनुभव भएका पूर्व न्यायपरिषद सदस्य पदम बैदिक, उपप्रध्यापक अनुप चन्द र इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी अनिल सिं ठकुरले विद्यार्थीहरूको प्रस्तुति मूल्याङ्कन गर्नुभयो । उनीहरूले विद्यार्थीहरूको कानुनी ज्ञान र तर्क प्रस्तुत गर्ने शैलीको प्रशंसा गर्दै सुधारका लागि केही सुझाव पनि दिएका छन् ।

यो कार्यक्रमले विद्यार्थीहरूलाई कानुनको व्यावहारिक पक्ष बुझ्न र अदालतमा हुने प्रक्रियाको अनुभव गर्न महत्वपूर्ण सहयोग गरेको सरोकारवालालले बताएका छन् । मेट्रो कलेजका संस्थापक अध्यक्ष घनश्याम पाण्डे, नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष विपुल पोखरेल, नेपाल पत्रकार महासंघ दाङका पूर्व अध्यक्ष सुदिप गौतम, तुलसीपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष बिमल रिजाल, तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष बिनिल केसी लगायतले यस्ता कार्यक्रमले विद्यार्थीहरूको अनुसन्धान, विश्लेषण र वकालत गर्ने सीपलाई अभिवृद्धि गर्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय हुने विद्यार्थीलाई नगदसहित पुरस्कार प्रदान गरिएको कार्यक्रम संयोजक बिजय केसीले बताउनुभयो ।

प्रकाशित मिति : २०८१ माघ १५ गते मङ्गलवार