दाङ, १८ माघ ।
दाङको तुलसीपुर उपमहानगरपालिकाका उपकरणको संचालन अपारदर्शी देखिएको छ । उपमहानगरपालिकाका डोजर, लोडर, जेसिभी, टिप्पर, ग्रेडरलगायतका उपकरण नगर प्रमुख, उपप्रमुख र वडाध्यक्षहरूको मौखिक निर्देशनमा मात्रै सञ्चालन हुने गरेको तथ्य महालेखा परीक्षकको प्रतिवेदनले सार्वजनिक गरेको हो ।
महालेखा परीक्षकको प्रतिवेदनमा ति उपकरणहरूको इन्धन, जनशक्ति व्यवस्थापन र मर्मतसम्भार लागतसम्बन्धी स्पष्टता अभाव देखिएको उल्लेख छ । उपकरणहरूको परिचालन लागत, आय र लगानीको लगसिट व्यवस्थापनसमेत सार्वजनिक हितविपरीत रहेको प्रतिवेदनमा औँल्याइएको छ ।
प्रतिवेदनका अनुसार उपकरणहरूको सञ्चालन, मर्मत र इन्धन खर्चको कुनै निश्चित विवरण उपलब्ध छैन । ति उपकरणहरू परिचालन गर्दा हुने आय र लगानी विश्लेषण स्पष्ट नहुँदा आर्थिक अपचलन र अपारदर्शिताको आशंका बढेको छ ।
मौखिक निर्देशनका आधारमा उपकरण सञ्चालन गर्दा प्रशासनिक प्रक्रियाको उल्लंघन भएको ठहर गरिएको छ । महालेखा परीक्षकले उपमहानगरको यो गतिविधिले सार्वजनिक सम्पत्तिको उचित उपयोग सुनिश्चित नगरेको र सुशासनमा गम्भीर प्रश्न उठाएको बताएको छ ।
तुलसीपुरका नागरिक तथा सरोकारवालाहरूले उपमहानगरपालिकालाई उपकरण सञ्चालन प्रक्रियामा पारदर्शिता अपनाउन, आय(व्ययको विस्तृत विवरण सार्वजनिक गर्न र यस्तो कार्यप्रणाली सुधार गर्न माग गरेका छन् ।
महालेखा परीक्षकको प्रतिवेदनले देखाएका समस्या समाधान गर्न, स्थानीय सरकारलाई आवश्यक सुधारका कदम तत्काल चाल्नुपर्ने सरोकारवालाको माग छ ।

