२०८३ बैशाख १९ गते शनिवार

दाङमा लागूऔषध कारोबारको आरोपमा दुई दिनको अवधिमा चार जना पक्राउ



दाङ, २३ माघ ।

दाङको घोराहीमा लागूऔषध कारोबारमा संलग्न रहेको आरोपमा दुई दिनको अवधिमा चार  जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले गएराती १० बजेतिर घोराही उपमहानगरपालिका-१५ भिमसेन टोलमा डेरा गरी बस्ने २५ वर्षीय तनुज श्रेष्ठ र रोल्पा नगरपालिका वडा नम्बर २ का १९ वर्षीय टेकराज गुरूङलाई लागूऔषध ब्राउन सुगरसहित नियन्त्रणमा लिइएको हो ।

गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले श्रेष्ठ र गुरूङको डेरा तथा शरीर खानतलासी गर्दा १५ वटा पुडियामा राखिएको ब्राउन सुगर जस्तो देखिने पदार्थ बरामद गरेको छ ।

कुल तौल प्लास्टिकसहित २.५१० ग्राम तथा शुद्ध तौल १.८४० ग्राम रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जनामाथि लागूऔषधसम्बन्धी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी चक्र बहादुर शाहले जानकारी दिनुभयो ।

प्रहरीले मंगलबार दिउँसो मात्रै लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको थियो । प्रहरीले घोराही उपमहानगरपालिका-१५ रतनपुरका २१ वर्षीय सन्देश श्रेष्ठ र रोल्पा रुन्टिगढी गाउँपालिका-२ घर भई हाल घोराही उपमहानगरपालिका-१४ नयाँबजारमा डेरा गरी बस्ने २१ वर्षीया समीक्षा पुन मगरलाई पक्राउ गरेको हो ।

प्रकाशित मिति : २०८१ माघ २३ गते बुधवार