दाङ, २१ फागुन ।तुलसीपुर बजारमा खानेपानीको व्यवस्थापन गरिरहेको तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आगामी नेतृत्वका लागि चुनावी रौनक शुरु भएको छ ।
चैत २ गते हुने निर्वाचनका लागि आज उमेदवारले मनोनयन दर्ताको समय तोकिएको छ । बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म मनोनयन दर्ताको समय रहेको छ । नेपाली कांग्रेसका एक नेताका अनुसार खानेपानीको आगामी नेतृत्वका लागि प्रमुख दल नेपाली कांग्रेसले उमेदवारको टुंगो लगाएको छ ।
कांगे्रसका तर्फबाट बहालवाला अध्यक्ष यमकान्त भण्डारीलाई नै अध्यक्षको उमेदवार बनाएको छ । यस्तै कांग्रेसले उपाध्यक्षमा नारायण शर्मा, सचिवमा रन्जन गौतम र कोषाध्यक्षमा भोला थापालाई उमेदवार बनाउने भएको छ । थापा अहिलेको बहालवाला कोषाध्यक्ष हुनुहुन्छ । उहाँ यसअघि स्वतन्त्रबाट लोकप्रिय मतका साथ निर्वाचित हुनुभएको थियो ।
तुलसीपुर खानेपानीको आगामी नेतृत्वका लागि नेकपा एमालेले पनि उमेदवारको टुंगो लगाउन सकेको छैन् । नेकपा एमालेबाट अध्यक्षमा हालका सचिब सेवकराम भण्डारी र पूर्व सचिव मनोज लामिछानेको नाम चर्चामा छ ।
नेकपा माओवादी केन्द्रले भने सीताराम शर्मालाई अध्यक्ष पदको उमेदवार बनाउने निर्णय गरिसकेको छ । शर्मा हालका उपाध्यक्ष हुनुहुन्छ । खानपानीको आगामी नेतृत्वका लागि २ चैतमा निर्वाचनको मिति तोकिएको छ । निर्वाचन समितिका अनुसार आज नै उमेदवारको नामावली प्रकाशन गर्ने कार्यतालिका छ ।

