२०८३ बैशाख १० गते बिहिवार

दाङमा नवजात शिशुको शव सेफ्टी ट्याङ्कीमा फालिएको अवस्थामा फेला, एक महिला पक्राउ



दाङ,१० वैशाख ।  रोल्पाकाे  गंगादेव गाउँपालिका-१ ओत घर भई हाल दाङको शान्तिनगर गाउँपालिका-५, कासीपुरमा  बस्दै आएकी सरिता बि.क. (अन्दाजी २७ वर्ष) लाई नवजात शिशुको ज्यान लिएको अभियोगमा प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सूर्य रानाका अनुसार गत चैत २४ गते राती करिब  सरिता बि.क.ले छोरीको रुपमा जन्मिएको नवजात शिशुलाई मृत अवस्थामा प्लास्टिकको बोरामा बेरेर घरदेखि झण्डै १०० मिटर पश्चिमतर्फ रहेको कच्ची ट्वाईलेटको सेफ्टी ट्याङ्कीमा फालेकी थिइन्। घटनाबारे १५ दिनपछि वैशाख ७ गते बिहान मात्र  प्रहरीलाई जानकारी प्राप्त भएको थियो।

प्रहरी टोली तत्कालै घटनास्थल पुगेर नवजात शिशुको शव बरामद गरेको थियाे। प्रारम्भिक अनुसन्धान तथा शव परीक्षण  गरिसकेपछि प्रहरीले सरिता बि.क.लाई घटनास्थलबाटै नियन्त्रणमा लिएको हाे ।

उक्त घटनामा ज्यान सम्बन्धी कसुर अन्तर्गत अनुसन्धान अघि बढाइएको र  दाङ जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमति लिई उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता रानाले जानकारी दिनुभयो।

प्रकाशित मिति : २०८२ बैशाख १० गते बुधवार