२०८१ भाद्र २२ गते आइतवार

दाङसहित देशभर आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइदै



दाङ, ३ भदौ ।
आज कृष्ण जन्माष्टमी । भाद्र कृष्ण अष्टमीका दिन मनाइने यो पर्व आज दाङसहित देशभर भगवान् श्रीकृष्णको पूजा-आराधना गरी श्रद्धा-भक्तिपूर्वक मनाइँदैछ ।

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापर युगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले यस दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ ।

यस अवसरमा देशभरीका कृष्ण मन्दिरमा भगवान् श्रीकृष्णको पूजा-आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै श्रद्धालु भक्तजनहरु व्रत बसी रातभर जाग्राम बस्ने गर्छन् ।

अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूणर् मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतार एवं वसुदेव र देवकीको आठौँ गर्भका रुपमा जन्मनुभएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेको शास्त्रीय वणर्न छ ।

यस अवसरमा देशभरका कृष्ण मन्दिरहरुमा विशेष मेला लाग्ने गर्दछ ।

यसैबीच कृष्णजन्माष्टमीमा यस वर्ष पनि सरकारले सार्वजनिक बिदा दिएको छ । २०६४ सालपछि कटौती गरिएको कृष्णजन्माष्टमीको बिदा फेरि दिइएपछि सनातन धर्मावलम्बीले सरकारप्रति कृतज्ञता व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २०७९ भाद्र ३ गते शुक्रवार