२०८१ जेष्ठ १६ गते बुधवार

आज थारू समुदायले अटवारी पर्व मनाउँदै



दाङ, १२ भदौ ।
दाङसहित तराइका जिल्लामा आज थारू समुदायले अटवारी पर्व मनाउँदै छन् । विशेषगरी थारू समुदायका पुरुषहरु ब्रत बस्ने यस पर्व तराईको पश्चिम कञ्चनपुरदेखि पूर्व झापासम्म मनाइने गरिन्छ । यद्यपि पूर्वका थारूले ‘रैव’ भनेर यसलाई मनाउने गर्दछन्् ।

थारू समुदायको बाहुल्यता रहेको स्थान र विशेषगरी दाङ, बाँके, बद्धिया, कैलाली, कञ्चनपुर, सुर्खेत जिल्लामा बर्का अटवारी मनाइन्छ । थारू आयोगले जारी गरेको विज्ञप्तिपछि सरकारी निकाय र थारु सम्बद्ध संघ संस्थाले पनि आज अटवारी भएको भन्दै स्थानीय विदा समेत दिएका छन् ।

थारू संस्कृतिका जानकार तथा थारु कल्याणकारिणी सभा क्षेत्र १ देउखुरीका सचिव वालगोविन्द चौधरीले थारु आयोग र अन्य जिल्लामा देखिएको एक रुपताका कारण दवावमा आजलाई अटवारी मानिए पनि १९ गतेको आइतबारलाई पनि सानो पर्वको रुपमा मनाइने बताउनुभयो ।

यस विषयमा थारु संस्कृतिका बारेमा खोज अनुसन्धान गरिहनुभएका उदयराज आलेले पर्वहरु ठाउँ विशेषअनुसार फरक दिन र हिसावले मनाउने गरिएको बताउनुहुन्छ ।

थारु संस्कृतिबारेमा अध्ययन गरेका थारु साहित्यकार छविलाल कोपिलाले तिजपछिको पहिलो आइतबार अट्वारी हो भन्ने दावा गलत भएको बताउनुभयो ।

उहाँका अनुसार भदौ महिनाको पहिलो आइतबारदेखि दशैंसम्म, भदौ महिनाको पहिलो आइतबारदेखि औंसीको पहिलो आइतबारसम्म, कुशे औंसीको पहिलो आइतबारदेखि दशैंसम्मको ५ आइतबार र कुशे औंसीको पहिलो आइतबार मात्र व्रत बस्ने यी चार थरिका व्रतालुको साझा दिन कुशे औंसीको पहिलो आइतबारको अटवारी भएकोले यसलाई ‘बर्का अटवारी’ भनिएको हो ।

अर्का थारू अगुवाका अनुसार कृष्णजन्माष्टमी पछिको दोस्रो आइतबार नै अटवारी भनेर मनाइन्छ । आइतबार पर्ने पर्व भएकाले यस पर्वको नाम अटवारी रहन गएको थारू बुद्धिजिवीहरुको भनाइ छ ।

प्रकाशित मिति : २०७९ भाद्र १२ गते आइतवार