२०८१ चैत्र ५ गते मङ्गलवार

शिवशक्ति बहुउद्देश्यीय सहकारीको साधारण सभा



तुलसीपुर, १५ असोज ।

तुलसीपुर-७ बम्नैमा रहेको शिवशक्ति बहुउद्देश्यीय सहकारी संस्थाले शनिबार (आज) १९ औ साधारणसभा गरेको छ । बुद्धिराम भुषालको अध्यक्षता तथा वडा नम्बर ७ का अध्यक्ष रामबहादुर जिसीको प्रमुख आतिथ्यतामा साधारणसभाको उद्घाटन कार्यक्रम भएको हो ।

त्यस अवसरमा वडा अध्यक्ष जिसीले सहकारीको विकासलेमात्रै आर्थिक समृद्धिको लक्ष्यमा पुग्न सकिने बताउनुभयो । उहाँले वडाले सहकारीको व्यवस्थापनका लागि वडाले तालिम, प्रशिक्षण लगायतका काममा सहयोग गर्ने बताउनुभयो । उहाँले वडाभित्र सहकारीमार्फत कृषि हाटबजार संचालन गरी कृषिजन्य वस्तुको बजारीकरण गर्नुपर्नेमा जोड दिनुभयो ।

विस २०६१ सालमा स्थापना भएको सहकारीमा २८३ महिला र पुरूष २६१ गरी ५४५ जना शेयर सदस्य रहेका छन् । संस्थाले एक करोड बराबरको कारोबार गरेको सहकारी संस्थाका कोषाध्यक्ष श्रीधर पौडेलले बताउनुभयो । संस्थाले रासायनिक मल वितरण र कृषि उद्यमीका लागि कर्जा प्रवाह गरिरहेको उहाँले बताउनुभयो ।

उपाध्यक्ष कमला अधिकारीको स्वागत मन्तव्यबाट शुरू भएको साधारण सभामा सेयर सदस्य विष्णुप्रसाद आचार्य, ईश्वरी पौडेल, ऋषि पोखरेल लगायतले सहकारी संस्था विपन्न वर्गको साथी भएको बताउनुभयो । साधारण सभाको उद्धघाटन सत्रको सहजीकरण कोषाध्यक्ष श्रीधर पौडेलले गर्नुभएको हो ।

संस्थाको नयाँ संचालक समितिमा अध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्ष र सचिवमा सहमती जुट्न नसकेपछि निर्वाचन हुने भएको छ । आज चार जना सदस्यमात्रै निर्विरोध चयन गरिएको र भोलि निर्वाचन समितिले निर्वाचनको मिति घोषणा गर्ने अध्यक्ष भुषालले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७९ असोज १५ गते शनिवार