२०८१ असोज १८ गते शुक्रवार

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनका लागि गृहकार्य शुरु



दाङ, १९ पुस ।

निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनका लागि गृहकार्य शुरु गरेको छ । आयोगले प्रधानमन्त्री पुष्पकमल दाहालसँग राष्ट्रपति, उपराष्ट्रपति र रिक्त रहेको राष्ट्रिय सभा सदस्यको निर्वाचन लगायतबारे आज परामर्श गरेको छ । सो क्रममा आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया लगायत आयुक्तले निर्वाचन आयोगको कामकारबाही र निर्वाचन प्रक्रिया बारे जानकारी गराउनु भएको थियो ।

वर्तमान राष्ट्रपतिको पदावधि आगामी फागुन २८ गतेसम्म मात्र हुने भएकाले सो अगाडि नै राष्ट्रपति पदको निर्वाचन र राष्ट्रपतिको निर्वाचन भएको १५ दिनभित्र उपराष्ट्रपति पदको निर्वाचन सम्पन्न गराउनुपर्ने अवस्था छ । उपराष्ट्रपतिको पदावधि आगामी चैत ९ गते सकिनेछ । आयोगले राष्ट्र प्रमुख रिक्त नरहने गरी निर्वाचनको लागि गृहकार्य थालेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

यता, राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६१ मा कुनै सदस्यको पदावधि छ महिना भन्दा बढी कायम रहँदै कुनै कारणले पद रिक्त भएमा बाँकी अवधिका लागि रिक्त भएको मितिले ३५ दिनभित्र नेपाल सरकारले तोकेको मितिमा आयोगले उपनिर्वाचन गराउनुपर्ने व्यवस्था छ । सो बमोजिम मिति तोक्न आयोगले सरकारलाई लिखित परामर्श दिने व्यवस्था अनुसार आगामी माघ २५ गते बुधबार राष्ट्रियसभा सदस्यको उपनिर्वाचन गर्ने गरी निर्वाचनको मिति तोक्न परामर्श दिइएको आयोगका प्रवक्ता पौडेलले जानकारी दिनुभयो ।

यसैगरी आयोगले तयार गरेको निर्वाचनसँग सम्बन्धित एकीकृत निर्वाचन कानूनको मस्यौदा सरकार मार्फत संघीय संसदको पहिलो अधिवेशनमा पेश गर्ने तयारीमा आयोग जुटेको उहाँले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७९ पुष १९ गते मङ्गलवार