प्यूठान, २७ पुस ।
गत असोज १८ गतेप्यूठानको ऐरावती, माण्डवी गाउँपालिकाको विभिन्न स्थानमा गएको पहिरोका कारण करिब ४९ परिवार घरवार बिहिन भएका छन् । पहिरोका कारण बस्ती नै जोखिममा परेपछि उनीहरू हाल जङगल तथा विद्यालयमा बस्न बाध्य भएका छन् ।
असोज १८ गतेदेखि लगातार ४ दिनसम्म परेको पानीका कारण बस्ती माथिबाट जमिन भासिएपछि ऐरावती गाउँपालिका ४ तिघ्रापातल र माण्डवी गाउँपालिका २ धनचौरका ४९ परिवार विस्थापित भएका थिए । पहिरोले सिङ्गो बस्ती र जमिनमा धजा फाटेपछि ऐरावती गाउँपालिका ४ का २३ घर परिवारमध्ये अधिकांश विद्यालयमा आश्रय लिइरहेका छन् भने केहि जोखिम मोलेर चर्किएको घरमा बसिरहेका छन् ।
पहिरो गएको ३ महिना बितिसक्दा समेत उनीहरू न त घर फर्कन सकेका छन नत सरकारी पक्षबाट सुरिक्षत आवास नै पाएका छन् । बस्ती स्थानान्तरण गर्ने की घर पूर्ननिर्माण गर्ने भन्ने विषयमा कुनै निणर्य नभएको स्थानीयवासी उमा बुढाथोकी मगरले बताउनुभयो ।
पहिराका कारण बस्ती जोखिममा परेका नागरिकलाई सुरक्षित आवासका लागि तीनै तहका सरकारले बेवास्ता गरेको प्रभावितहरूको गुनासो छ । स्थानीय तहले राहत वापत खाद्यान्न उपलब्ध गराएपनि दीर्घकालीन रुपमा आवासका लागी आश्वासन बाहेक अरु दिन सकेको छैन ।
प्रदेश सरकारले भुगर्भविद्को सल्लाहपछि बस्ती स्थानानतरण गर्ने बताएको थियो तर ऐरावती गाउँपालिका ४ तिघ्रापातलमा अवलोकनको लागि अहिलेसम्म भुगर्भविद् पुगेका छैनन् । भुगर्भविद् र विभागसँग समन्वय भने भइरहेको प्यूठानका प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जानकारी दिनुभयो ।