२०८१ असोज १९ गते शनिवार

स्ववियु नेतृत्वका लागि दाङका चार क्याम्पसमा निर्वाचन



दाङ, ५ चैत ।
दाङका चार क्याम्पसमा मात्रै स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सुरु भएको छ । चार क्याम्पसमा भने तालाबन्दीका कारण निर्वाचन स्थगित भएको छ ।

केन्द्रीय आयुर्वेद विद्यापिठ बेलझुण्डी, देउखुरी बहुमुखी क्याम्पस लमही, जनता बहुमुखी क्याम्पस गढवा र ऐरावती आदर्श बहुमुखी क्याम्पस लालमटीयामा बिहान ८ बजेदेखि मतदान सुरु भएको र एक क्याम्पसमा सर्वसम्मत नेतृत्व चयन भएको जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर वलीले बताउनुभयो ।

आयुर्वेद विद्यापिठमा १ सय ९७, देउखुरी बहुमुखीमा १ हजार ११९, जनता बहुमुखीमा १ सय ७९ र ऐरावती आदर्श बहुमुखी क्याम्पसमा ६७४ मतदाता रहेको वलीले बताउनुभयो । यस्तै मतदानका लागि आयुर्वेद विद्यापिठमा २, देउखुरी बहुमुखीमा ३, आदर्शमा २ र गढवामा १ वटा मतदान केन्द्र तोकिएको छ ।

महेन्द्र बहुमुखी क्याम्पस घोराही, विश्वविद्यालय विद्यापिठ बेलझुण्डी, जनता विद्यापिठ बिजौरी र राप्ती बबई क्याम्पस तुलसीपुरमा विभिन्न विद्यार्थी संगठनको तालाबन्दीका कारण निर्वाचन स्थगित भएको एसपी वलीले बताउनुुभयो ।

तीमध्ये महेन्द्र बहुमुखी क्याम्पस घोराहीले चैत ८ मा निर्वाचन गर्ने निणर्य गरेको छ भने अन्य क्याम्पसमा अझै केही टुंगो लागेको छैन ।

प्रकाशित मिति : २०७९ चैत्र ५ गते आइतवार