२०८१ मङ्सिर २३ गते आइतवार

गणेशले पाए नि:शुल्क रुपमा कृत्रिम खुट्टा



सल्यान, १० भदौ । सल्यानको कपुरकोट गाउँपालिका वडा नम्बर ५ का गणेश साहुले कृत्रिम खुट्टा पाउनुभएको छ । उहाँलाई कपुरकोट गाउँपालिकाले निशुल्क रुपमा कृत्रिम खुट्टा उपलब्ध गराएको हो ।

गाउँपालिकाका अध्यक्ष दुर्गा बहादुर पुनले एउटा खुटा नभएका अशक्त साहुलाई कृत्रिम खुट्टा उपलब्ध गराउनुभएको हो । अध्यक्ष पुनले राज्य आम नागरिकको अभिभावक भएकाले अपांगता भएका व्यक्तिलाई राज्यले सहयोग गरेको बताउनुभयो ।

उहाँले बितेको आर्थिक वर्षदेखि नै गाउँपालिकाले अपांगता भएका व्यक्तिलाई विभिन्न सामग्रि वितरण गरेको बताउनुभयो । ‘यो कार्यक्रम यो गत वर्ष देखिको हो, गत बर्ष ६ लाख बजेट थियो । ’ उहाँले भन्नुभयो-‘४ जनाको निशुल्क अप्रेशन गरिएको छ भने ८ जनालाई कृतिम अङ्ग र १० जना भन्दा बढिलाई सहायक सामाग्री प्रदान गरिएको छ ।’

यस्तै गत आर्थिक वर्षमा बृहत अपाङ्ग्ता शिविर राखेर ६० जनाको जाँच गरिएको अध्यक्ष पुनले बताउनुभयो । यो कार्यक्रम चालुवर्षमा पनि जारी रहने उहाँले बताउनुभयो।

गाउंपालिका र अपाङ्ग बाल अस्पताल विकलाङ्ग मित्र समुहको साझेदारीमा अन्य अपाङ्गता भएका व्यक्तिहरुलाई पनि कृतिम अङ्ग उपलब्ध गराउने गरेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत भरत कुमार वलीले बताउनुभयो ।

‘गाउँ ठाउँमा कोहि अपाङगता भएका ब्यक्तिको निशुल्क उपचार र अप्रेशन गर्नुपर्ने र कृतिम अङ्ग तथा सहायक सामाग्रीहरु आबश्यक परेको भएमा कपुरकोट गाउंपालिकाको महिला, बालबालिका तथा जेष्ठ नागरिक इकाईमा सम्पर्क राख्न सकिनेछ ।’ उहाँले भन्नुभयो-‘आँखाको पावर चेक गरी आएमा ४० बर्ष भन्दा माथि उमेरका नागरिकहरुलाई निशुल्क चस्मा पनि स्वास्थ्य शाखाबाट दिन सकिने छ ।’

उहाँले गाउँपालिकामा अपांगता भएका व्यक्तिले सहायताका लागि सम्पर्क गर्न अनुरोध गर्नुभएको छ ।

प्रकाशित मिति : २०८० भाद्र १० गते आइतवार