२०८१ मङ्सिर २४ गते सोमवार

सोह्रश्राद्ध असोज १३ गतेदेखि : जानौ कुन समयमा कुन तिथिको श्राद्ध उत्तम



दाङ,९ असोज।
यसवर्ष २०८० सालको सोह्रश्राद्ध असोज १३ गतेदेखि शुरू हुँदै छ । श्राद्ध हिन्दु संस्कार अनुसार दिवङ्गत पितृहरूको स्मरणमा श्रद्धा र सम्मान अर्पण गरिने कार्य हो।

चन्द्रमान-अनुसार आश्विन कृष्ण पक्षलाई पितृपक्ष वा सामान्य बोलीचालीको भाषामा सोह्र श्राद्ध भनिन्छ। एक पक्षमा १५ तिथि हुने भए पनि भाद्र शुक्लपूर्णिमादेखि आश्विन औँसी (जमरे औंसी) सम्मका १६ तिथिमा श्राद्ध गरिने भएकाले यस समयमा गरिने श्राद्धलाई सोह्र श्राद्ध भनिएको हो।

यसवर्ष को सोह्र श्राद्ध असोज १३ पहिलो दिन प्रतिपदा श्राद्ध दिउँसो १ बजेर ५९ मिनेटसम्म गर्न उत्तम मानिएको नेपाल ज्योतिष परिषद लुम्बिनी प्रदेशका सचिव माधवा शर्मा पोखरेलले बताउनुभयो।

असोज १४ गते तृतीया श्राद्ध मध्यान्न १२ बजेर १२ मिनेट पछि राम्रो रहेको छ । यस्तै १५ गते चतुर्थी श्राद्ध बिहान १० बजेर ४४ मिनेटपछि, १६ गते पंचमी श्राद्ध बिहान ९ बजेर ४२ मिनेटपछी गर्न सकिने छ।

यस्तै १७ गते षष्ठी श्राद्ध बिहान ९ बजेर ७ मिनेटपछी, १८ गते सप्तमी श्राद्ध बिहान ९ बजेर १ मिनेटपछी,१९ गते अष्टमी श्राद्ध  बिहान ९ बजेर २७ मिनेट देखि,२० गते नवमी श्राद्ध बिहान १० बजेर २३ मिनेटदेखि,२१ गते दशमी श्राद्ध बिहान ११ बजेर ४६ मिनेटदेखि गर्न सकिने पोखरेलले बताउनुभयो।

असोज २२ गते कुनै श्राद्ध छैन ।दिउँसो १ बजेर ३२ मिनेटदेखि एकादशी तिथि प्रारम्भ हुनेछ त्यसपछि २३ गते एकादशी श्राद्ध दिउँसो १ बजेर स्३३ मिनेट सम्म गर्न सकिनेछ।

यस्तै २४ गते द्वादशी श्राद्ध साँझ ५ बजेर ४०मिनेटसम्म,२५ गते त्रयोदशी श्राद्ध ९ बजेर ४२ मिनेटसम्म,२६ गते चतुर्दशी श्राद्ध वेलुका ९ बजेर २८ मिनेटसम्म र २७ औंसी श्राद्ध वेलुका १० बजेर ५३ मिनेट सम्म पितृ विसर्जन गर्न सकिने पोखरेलले बताउनुभयो।

पितृलाई श्राद्धमा मुण्डन नगरी दिएको तर्पण रगत र अन्न दिशा समान हुने शास्त्रले उल्लेख गरेको छ।

प्रकाशित मिति : २०८० असोज ९ गते मङ्गलवार