२०८१ असोज १९ गते शनिवार

तुलसीपुर १८ मा एक सय बढी कुकुरको बन्ध्याकरण



दाङ, २२ मंसिर ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८ मा १ सय बढी कुकुरहरुको बन्ध्याकरण गरिएको छ । मंसिर १९ गतेदेखि सुरु भएको सामुदायीक कुकुर बन्ध्याकरण कार्यक्रममा १ सय ७० कुकरहरुलाई बन्ध्याकरण गरिएको वडाले जनाएको छ ।

यस्तै ३३ वटा कुकुरहरुलाई रेविज बिरुद्धको खोप लगाईएको एचएआरटीका निर्देशक एवम् कार्यक्रम संयोजक खगेश्वर भट्टराईले जानकारी दिनुभयो ।

कार्यक्रममा १ सय २८ वटा भाले कुकुर तथा ४२ वटा पोथी कुकुरहरुलाई बन्ध्याकरण गरिएको हो । छिमेकी वडाहरु वडा नम्बर १९ र वडा नम्बर १७ का पनि केहि कुकुरहरुको समेत बन्ध्याकरण गरिएको भट्टराईले जानकारी दिनुभयो ।

वडा नम्बर १८ अन्तर्गत पर्ने विभिन्न टोलहरुमा सामुदायीक कुकुरहरुको बिगबिगी भएकोले कुकुरहरुको टोकाईबाट धेरै मानिसहरुलाई प्रत्यक्ष असर परेको गुनासो आएपछि वडाले अभियानकै रुपमा कुकुरहरुको बन्ध्याकरण सुरु गरेको हो ।

तुलसीपुर उपमहानगरपालिकाका नगर उपप्रमुख स्यानी चौधरीले सामुदायीक कुकरहरु बन्ध्याकरण गरेर वडाले उदाहरणीय काम गरेको बताउनुभयो । कार्यक्रममा हिमालय एनिमल रिसोर्स ट्रसका निर्देशक खगेश्वर भट्टराईले कार्यक्रम भर प्रत्यक्ष अप्रत्यक्ष रुपमा साथ र सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो ।

वडा अध्यक्ष माधव वलीले पृथ्वी सबैको साझा घर भएकोले सबैलाई बाँच्न पाउने अधिकार भएको हुँदा सामुदायिक कुकुरहरुलाई बन्ध्याकरण गर्ने सोच बनाएको बताउनुभयो । आगामी दिनहरुमा समाज हितका लागी यस्तै खालका अन्य कार्यक्रमहरु आयोजना गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

अध्यक्ष वलीले तुलसीपुर उपमहानगरपालिकाले पनि छिट्टै यस्ता किसिमका कार्यक्रमहरु ल्याउने र त्यसको लागि आफुले आफ्नो तर्फबाट पहल गर्ने बताउनुभयो । वडा अध्यक्ष माधव वलीको अध्यक्षता तथा नगर उपप्रमुख चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

१८ नम्बर वडाको समन्वय तथा भेटनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र दाङको आयोजना र हिमालय एनिमल रिसोर्स ट्रसको प्राबिधिक सहयोगमा मंसीर १९ गतेदेखि सामुदायीक कुकुर बन्ध्याकरण सुरु भएको हो ।

भेटनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र दाङका प्रसासन शाखा प्रमुख शेर बहादुर केसीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण वडा सचिव रामकुमारी मरासिनीले गर्नुभएको हो ।

प्रकाशित मिति : २०८० मङ्सिर २२ गते शुक्रवार