दाङ, २५ मंसिर ।
दाङबाट सात सय बढी विदेशी बुहारीले नागरिकता लिएका छन् । जिल्ला प्रशासन कार्यालय दाङका अनुसार ७ सय २५ जना विदेशी बुहारीले वैवाहिक अंगिकृत नागरिकता लिएका हुन् ।
नेपालको संविधान २०७२ को भाग २ अनुसार नेपाली पुरुषसंग विवाह गरेका ७ सय २५ विदेशी महिलाले दाङबाट नेपाली नागरिकता पाएका हुन् । नेपालको कानुन अनुसार नेपाली पुरुषसंग विवाह गरेकी विदेशी महिलाले विवाहको भोलिपल्टै नागरिकता पाउने प्रावधान छ ।
दाङमा जिल्ला प्रशासनबाट सबैभन्दा बढी विदेशी बुहारीले नागरिकता प्राप्त गरेका छन् । तथ्यांक अनुसार जिल्ला प्रशासन कार्यालय घोराहीबाट ६३५, इलाका प्रशासन कार्यालय तुलसीपुरबाट २९ र इलाका प्रशासन कार्यालय लमहीबाट ३१ जना विदेशी बुहारीले नेपाली नागरिकता प्राप्त गरेका छन् ।
दाङमा नेपाली नागरिकता प्राप्त गर्ने अधिकांश विदेशी बुहारी भारतका रहेका छन् । दाङ भारतसंग सिमा जोडिएका कारण सिमानाकामा भारतीय महिलाले नेपाली पुरुषसंग विवाह गर्ने गरेको जिल्ला प्रशासन कार्यालय दाङका प्रशासकिय अधिकृत बिजय गौतमले जानकारी दिनुभयो ।।