दाङ, ९ पुस ।
समलिंगि बिहे गरेका दाङकी मनिला न्यौपाने र कैलालीका प्रकाश चौधरीको बिहेले कानुनी मान्यता पाएको छ ।
हिन्दु परम्पराअनुसार चार वर्ष अघि विवाह गरेका कैलारी गाउँपालिका-८ का प्रकाश चौधरी र दाङको तुलसीपुर उपमहानगरपालिका- १ बस्ने मनिला न्यौपानेले विवाह दर्ता गरेका हुन् ।
उनीहरू दुवै जना तेस्रो लिङ्गी हुन् । शुक्रबार कैलारी गाउँपालिका-८ को वडा कार्यालयले उनीहरूलाई विवाह दर्ताको प्रमाणपत्र उपलब्ध गराएको हो ।
गत १२ असारमा सर्वोच्च अदालतले समलिङ्गी विवाहलाई मान्यता दिएपछि कैलालीमा चौधरीको जोडीले पहिलोपटक विवाह दर्ता गराएका हुन् ।
यसअघि लमजुङको दोर्दी गाउँपालिकाले नेपालमै पहिलोपटक समलिङ्गी जोडी माया गुरुङ र सुरेन्द्र पाण्डेको विवाह दर्ता गराएको थियो ।
निलहिरा समाजका अध्यक्ष पिंकी गुरुङले दिएको जानकारी अनुसार कैलाली जिल्लामा पनि तेस्रो लिंगी विवाह दर्ता भएको छ ।
समलिङ्गी विवाह गरेका प्रकाश र मनिलाले आफूहरूको विवाहले कानुनी मान्यता पाएको भन्दै खुसी व्यक्त गरेका छन् ।