२०८१ कार्तिक २१ गते बुधवार

रेलको लिक राखेर बनाइयो खाद्रे दोभानमा शवदाह गृह



तुलसीपुर, १९ पुस ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ र ७ को सिमानामा पर्ने खाद्रे नवलपुर दोभानमा निर्माण भएको शवदाह गृहको बिहिबार उद्घाटन गरिएको छ ।

शवदाहगृह निर्माण समितिका अध्यक्ष सुन्दर रोकाको अध्यक्षता तथा समाजसेवी इश्वरी बुढाको प्रमुख आतिथ्यता तथा सुरेन्द्र रेउलेको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो ।

तुलसीपुर ४ र ७ को सिमानामा पर्ने खाद्रे दोभानमा २०७२ सालमा मलामी प्रतिक्षालय भवन निर्माण गरेपनि शवदाहगृह नहुँदा वर्षात्को समयमा स्थानीयले सास्ती भोग्दै आएका थिए । सो क्षेत्रमा शवदाहगृह निर्माणका लागि विभिन्न निकायमा सहयोग मागे पनि कतैबाट प्राप्त नभएपछि दाङको तुलसीपुर उपमहानगरपालीका वडा नं ४ को खाद«े, वडा नं ७ मा रहेका डावर र नवलपुर सहित तीन गाँउका स्थानीय मिलेर शवदाहगृह निर्माण गरेका हुन् ।

नौ लाख ६६ हजार ६३६ रुपैंयाको लागतमा शवदाहगृह निर्माण गरिएको समितिका कोषाध्यक्ष लोक बहादुर खड्काले बताउनुभयो । देश तथा विदेशबाट ५० रुपैंयादेखि एक लाख ११ हजार एक सय ११ रुपैंयासम्म सहयोगसहित नौ लाख ७२ हजार ६६८ रुपैंया संकलन भएको उहाँले बताउनुभयो ।
शवदाह गृहको मुख्य भागमा रेलको लिक राखीएको छ ।

रेलको लिक नेपालमा पाउन असहज भएपछी भारतवाट खरीद गरेर ल्याइएको अध्यक्ष सुन्दर रोकाले बताउनुभयो। अन्य फलामको तुलनामा रेल गुडन प्रयोग गरीने लिक बलियो हुने भएकाले सो लिक नै प्रयोग गरीएको रोकाले बताउनुभयो ।

कार्यक्रममा शवदाह भवन समितिका अध्यक्ष शोभाराम बुढाथोकीले सबै मिलेर काम गर्दा विकास निर्माणको काम हुने बताउनुभयो । कार्यक्रममा बोल्ने वक्ताहरुले सामाजिक काम गर्दा राजनितिक दल नभएर सबैका साझा कामको रुपमा ध्यान दिनुपर्ने बताएका थिए ।

कार्यक्रममा निर्माण समितिका उपाध्यक्ष राजिव चौधरी, जनश्रम माद्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कलसिंह रावत, खाद्रे सरसफाई तथा खानेपानी उपभोक्ता समितिका अध्यक्ष ढक बहादुर बिक, समाजसेवी हेम बहादुर थापा लगाएतकाले बोल्नु भएको हो ।

सबैभन्दा धेरै एक लाख ११ हजार १११ रुपैंया सहयोग गर्ने इश्वरी बुढा र ३५ हजार ५ सय ५५ सहयोग गर्ने सुरेन्द्र रेउलेलाई दोसल्ला र प्रमाणपत्र सहित सम्मान गरिएको थियो भने सहयोग गर्ने सबै दाताहरुलाई सम्मान गरिएको हो ।

शवदाहगृह निर्माणमा सहयोग गर्ने सम्पूणर् सहयोगि दाताहरुलाई निर्माण समितिका अध्यक्ष सुन्दर रोकाले धन्यवाद ज्ञापन र आर्थिक प्रतिवेदन कोषाध्यक्ष लोक बहादुर खड्काले प्रस्तुत गर्नुभएको हो ।

प्रकाशित मिति : २०८० पुष १९ गते बिहिवार