
दाङ, ५ चैत ।
बनको संरक्षण गर्ने नागरिकले बनको सदुपयोग गर्न नपाएको सरोकारवालाको गुनासो छ । सरोकारवालले राज्य नागरिकमैत्री हुन नसक्दा बनको सहि सदुपयोग हुन नसकेको बताएका हुन् ।
ग्रिन फाउण्डेशन नेपालको आयोजनामा दाङको तुलसीपुरमा भएको तालिम समापन कार्यक्रममा सामुदायिक बन उपभोक्ता महासंघका केन्द्रीय सदस्य छविकुमारी खरालले बनको उपयोग गर्ने गरी कानुन निर्माण गर्नुपर्ने बताउनुभयो । उहाँले संविधानमा प्राकृतिक स्रोतको उपभोग गर्ने अधिकार भएपनि व्यवहारिकरुपमा कार्यान्वयन हुन नहुनु दुखद भएको बताउनुभयो ।
ग्रिन फाउण्डेशन नेपालको आयोजनामा सामुदायिक बनको कार्ययोजना निर्माण, डाटा पोर्टल तथा उद्यम विकास सम्बन्धि तालिम शुक्रबारदेखि शुरु भएको तालिम सोमबार समापन गरिएको हो । चार दिनसम्म संचालन भएको तालिममा बन विज्ञान अध्ययन गरिरहेका २६ जनाको सहभागीता रहेको थियो ।
तालिमको समापन ग्रिन फाउण्डेशन नेपाल दाङका अध्यक्ष बिष्णुबहादुर केसीको अध्यक्षतामा गरिएको हो । तालिम समापन कार्यक्रममा स्थानीय बन महासंघ तुलसीपुरका सचिव रक्षा काफ्ले, रेडियो प्रकृतिका ओपेन्द्र बस्नेत लगायतले बनको सरंक्षणमात्रै नभएर सदुपयोग गरी आर्थिक विकासमा परिवर्तन ल्याउन सकिने बताउनुभयो । कार्यक्रमको सहजीकरण अरबिन पौडेलले गर्नुभएको हो ।