२०८१ भाद्र २२ गते आइतवार

दलित समुदायबाट राज्यको नेतृत्व तहमा पुगेपनि विभेद कायमै



तुलसीपुर,८ चैत ।
राजनीतिक सहभागिता वृद्धिका लागि हाम्रो पहल भन्ने नाराका साथ ५९ औं अन्तराष्ट्रिय रंगभेद तथा जातीय विभेद उन्मुलन दिवसका अवसरमा शुभकामना तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । तुलसिपुर उपमहानगरपालिका दलित शसक्तीकरण विधेयक कार्यान्वयन समितिको आयोजनामा सम्पन्न भएको हो ।

सामाजिक विकास समितिका संयोजक मानबहादुर रावतको अध्यक्षता एवम् नगरप्रमुख टीकाराम खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
वडा नम्बर ३ का वडाध्यक्ष वीरबहादुर विश्वकर्माले दलित समुदायबाट राज्यको नेतृत्व तहमा पुगेपनि समाजमा अझै विभेद कायमै रहेको बताउनुभयो । उहाँले दलित समुदायबीच एकताबाट मात्रै विभेद अन्त्य गर्न सकिने बताउनुभयो ।

कार्यक्रममा नगर प्रवक्ता माधव वली, कार्यपालिका सदस्य यमुना परियार,अधिकारकर्मी निर्मल नेपाली, सुष्मा गिरीलगायतकाले बोल्नुभएको थियो ।

कार्यक्रममा कपडा सिलाउदै आउनुभएका वडा नम्बर ४ का तेजबहादुर परियार,आरन व्यवसाय गर्दै आउनुभएका वडा नम्बर ७ का ऋषिराज वि क, मादल बनाउदै आउनुभएका वडा नम्बर ७ का पवित्रा वादी, वडा नम्बर ४ का सारङ्गी बाधक शालिकराम गन्धर्व र वडा नम्बर १० का छाला जुत्ता सिलाउदै आउनुभएका च्याउने सार्कीलाई सम्मान गरिएको हो ।
कार्यपालिका सदस्य लक्ष्मण विश्वकर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण महिला बालवालिका तथा सामाजिक विकास शाखा प्रमुख माया श्रेष्ठले गर्नुभएको थियो ।

 

प्रकाशित मिति : २०८० चैत्र ८ गते बिहिवार