२०८१ माघ ६ गते आइतवार

विश्व प्रेस स्वतन्त्रता दिवसमा तुलसीपुरमा पत्रकारबिच अन्तरक्रिया



तुलसीपुर,२१ बैशाख ।
विश्व प्रेस स्वतन्त्रता दिवसमा आज विभिन्न कार्यक्रम गरेर मनाइएको छ । दिवशका अवसरमा तुलसीपुरमा पत्रकारहरुसंग अन्तरक्रिया कार्यक्रम भएको छ । मानव अधिकार तथा शान्ति समाज दाङको आयोजनामा ‘मर्यादित एवं व्यवसायीक पत्रकारिता :केन्द्रविन्दुमा पत्रकारको सुरक्षा’ विषयक अन्तरक्रिया कार्यक्रम गरिएको हो ।

पत्रकारिता पेशा मर्यादित संगै व्यवसायीक बन्नुपर्नेमा सहभागिहरुको जोड रहेको थियो । प्रविधिको विकास संगै आम नागरिकले मूलधारका मिडियाबाट प्रकाशन तथा प्रसारण हुने सामग्री भन्दा सामाजिक सञ्जालका सामग्रि विश्वास गर्ने वातावरण बन्दा पत्रकारिता क्षेत्रप्रति हेरिने दृष्टिकोणमा परिवर्तन आउन थालेको सहभागीको भनाई छ ।

पत्रकार भरतराज शर्माले जिवनको अन्त्यसम्म सम्मानित भएर बाँच्न मर्यादित पत्रकारिता गर्नुपर्ने बताउनुभयो । उहाँले राज्यले पेशागत सुरक्षा तथा उचित पारिश्रमको भूमिका निर्वाह गर्न नसक्दा पत्रकारहरु पेशाबाट पलायन हुनुपर्ने अवस्था सिर्जना भएको बताउनुभयो ।

पत्रकार सुनिल कुमार पाखरेलले पत्रकारहरु सँधै निष्पक्ष र स्वतन्त्र हुनुपर्ने धारणा राख्नुभयो । पत्रकारहरु कुनै न कुनै दलहरुसंग आवद्ध हुँदा पत्रकारिता स्वतन्त्र बन्न नसकेको बताउनुभयो ।

मानव अधिकार तथा शान्ति समाज दाङका कार्यवहाक सभापति कोमल डिसीको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रिय सचिव निर्मल नेपालीले पत्रकारिता समाज विकासको आधार भएकाले मर्यादित बन्नुपर्नेमा जोड दिनुभयो । मानव अधिकार र सञ्चार क्षेत्र एक सिक्काका दुई पाटा रहेकाले सहकार्य अपरिहार्य रहेको बताउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका सहसचिव दिप्तीशिखा चौधरी, नेपाल प्रेस युनियन दाङका अध्यक्ष नारायण खड्का, प्रेस चौतारी दाङका अध्यक्ष प्रेम बहादुर राम्जा,बालाराम खड्का,एकराज भण्डारी, बसन्त पौडेल लगाएतले स्वतन्त्र पत्रकारिता आजको आवश्यक्ता रहेको बताउनुभएको थियो । कार्यक्रमको सहजिकरण मानव अधिकार तथा शान्ति समाजका निवर्तमान केन्द्रिय वरिष्ठ उपसभापति शुसिल बस्नेतले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०८१ बैशाख २१ गते शुक्रवार