२०८१ जेष्ठ ३१ गते बिहिवार

लागुपदार्थ दुर्व्यसन न्यूनिकरणबारे वक्तृत्वकला प्रतियोगिता



तुलसीपुर, ४ जेठ ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ बाहिरी सक्राममा विद्यालयस्तरीय खुला वक्तृत्वकला गरिएको छ । नयाँ पाइला पुनःस्थापना केन्द्र बिजौरीको सहयोगमा पूर्व विद्यार्थी समाज मावि भित्री सक्रामले शुक्रबार आज प्रतियोगिताको आयोजना गरेको हो ।

‘लागूऔषध दुर्व्यसनको वर्तमान अवस्था र नियन्त्रणका उपाय’ विषयक वक्तृत्वकला प्रतियोगितामा २७ जना प्रतियोगीले भाग लिएका थिए । प्रतियोगितामा लिटिल फ्लावरका आस्था शर्मा प्रथम, बाल अमृतका दामोदर आचार्य द्वितीय , फोर्टीनाईनका रिचा अधिकारी तृतीय र अमृत एकेडेमीका गणेश केसी सान्त्वना हुनुभएको छ ।

पूर्व विद्यार्थी समाज मावि भित्री सक्रामका अध्यक्ष डिल्ली केसीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यतामा वक्तृत्वकला प्रतियोगिता भएको हो । समाजमा भित्राभित्रै फैलिरहेको लागूपदार्थ दुर्व्यसन न्यूनीकरणका लागि परिवारसंगै समाज सचेत हुनुपर्ने सहभागी सरोकारवालाले जोड दिएका छन् ।

युवापुस्ता दुर्व्यसनमा जाँदा उनिहरूलाई दुर्व्यसनबाट जोगाउनका लागि राज्य र समाजको भूमिका सशक्त हुनुपर्ने जोड छ । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले दुर्व्यसनमुक्त समाज निर्माणका लागि पालिका सरकारले ध्यान दिने बताउनुभयो । उहाँकै यसको नियन्त्रणका लागि सरकारलाई नागरिकको पनि साथ आवश्यक भएको बताउनुभयो ।

यस्तै प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले लागूपदार्थ दुर्व्यसनले व्यक्ति, परिवार र समाजलाई गलत बाटोमा लैजाने बताउनुभयो । उहाँले सबैको सामुहिक प्रयासले मात्रै यसको नियन्त्रण गर्न सकिने बताउनुभयो ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ का अध्यक्ष प्रेमनाथ योगीले लागूपदार्थ दुव्र्यसन न्यूनिकरणका लागि वडा सरकार निरन्तर लागिरहेको बताउनुभयो ।

समाजमा लागूऔषध दुव्र्यसन न्यूनिकरणका लागि नयाँ पाइला पुनस्थापना केन्द्रले विभिन्न समयमा सचेतनामूलक कार्यक्रम गर्दै आएको केन्द्रका कार्यकारी निर्देशक सुरेश भुषालले बताउनुभयो । उहाँले आगामी दिनमा पनि सचेतनमूलक कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो ।

कार्यक्रममा प्राध्यापक सुन्दर गौतमले युवापुस्तामा सकारात्मक सोचको विकास गराउन निरन्तर लागिरहेको बताउनुभयो । कार्यक्रममा विभिन्न नृत्य पनि प्रस्तुत गरिएको छ । कार्यक्रमको सहजीकरण पूर्व विद्यार्थी समाज मावि भित्री सक्रामका सदस्य यज्ञबहादुर केसीले गर्नुभएको हो ।

प्रकाशित मिति : २०८१ जेष्ठ ४ गते शुक्रवार