तुलसीपुर, ३० साउन ।
दाङको तुलसीपुर-११ अन्तर्गत पर्ने नवलपुर पीरगाउँ सडकखण्डमा बिनियोजित बजेट कटौती भएपछि स्थानीय आक्रोसित भएका छन् ।
बिगत ५ वर्षदेखि अलपत्र रहेको सडक कालोपत्रे हुने आशामा स्थानीयहरु बसेका थिए । अहिले सो सडक कालोपत्रे गर्न आर्थिक वर्ष २०८१/०८२ का लागि नगरसभाबाट १ करोड २० लाख बजेट पारित भएको थियो । जसबाट दुई हजार ६ सय मिटर सडक कालोपत्रे गर्ने वडाको योजना रहेको थियो ।
कुल बजेटबाट ३० लाख रकम कटौती हुने भएपछि स्थानीयहरु आक्रोसित भएका छन् । गाँउलाई बजारसँग जोड्न पीरगाँउ, नवलपुर र वनगाँउ सडक कालोपत्रे गर्नको लागि पालिकाको नगरसभाबाटै पारित गरेको बजेट कटौती भएको जानकारी पाएका स्थानीयले बताएका छन् । पिच बाटोमा हिड्ने आशा निराशामा परिवर्तन भएको स्थानीय देबेन्द्र चौधरीले बताउनुभयो । चौधरीले भन्नुभयो– ‘सर्वहारा वर्गको नेतृत्व गरेका नगर प्रमुखले यस्तो नगर्नुपर्ने हो, यदी गरेको भए हामीलाई सैह्य छैन, हामी पालिकाको ध्यानाकर्षण गराउँछौं ।’ सुनुवाई नभए पालिका घेराउ गर्ने चेतावनी दिनुभयो ।
बजेट रकम अभावको कारण भन्दै कटौती गरेको खवर सुनेपछि स्थानीय रुष्ट बनेका छन् । सुख्खा मौसममा धुलाम्मे र बर्षामा हिलाम्मे हुने नवलपुर-पिरगाउँ सडक खण्ड कालोपत्रेका लागि एक करोड २० लाख बजेट छुट्याइएको खबर यसअघि नै जनप्रतिनिधिबाट सुनेको चौधरीले बताउनुभयो । नगरसभाबाट पारित भएको बजेट कटौती हुनु भनेको नगरसभाकै अपमान भएको चौधरीको भनाई छ ।
पालिकालाई नियमितरुपमा कर तिरे पनि कर तिरेअनुसारको सेवा सुविधा नपाएको स्थानीय सञ्चलाल चौधरीले गुनासो गर्नुभयो । दैनिकरुपमा हिड्ने बाटो कालोपत्रे नहुँदा बर्खाको समयमा हिलाम्मे बाटोमा हिड्नुपरेको उहाँको भनाई छ । अहिले कालोपत्रेको लागि परेको बजेट कटौती हुनाले स्थानीयहरु चिन्तीत बनेका छन् ।
सो सडक निर्माणका लागि तुलसीपुर उपमहानगरपालिकामा गठित तुलसीपुर विकास प्राधिकरणले आर्थिक वर्ष २०७७/०७८ मा उर्जा कृषभ जेभी कम्पनीसँग ठेक्का सम्झौता गरेको थियो तर सम्झौताको चार वर्षसम्म पनि काम सम्पन्न नभएपछि गएको असारमा ठेक्का रद्द गरिएको तुलसीपुर उपमहानगरपालिकाका इञ्जिनियर पवनकुमार योगीले जानकारी दिनुभयो ।
आर्थिक वर्ष २०८१/०८२ को बजेटमा सडक स्तरोन्नतीको लागि एक करोड २० लाख बिनियोजन गरिएको थियो । सो सडक स्तरोन्नतीको लागि एक करोड ८२ लाखको लागत स्टिमेट गरिएको इञ्जिनियर योगीले बताउनुभयो । उसो त सडकको पूर्ण निर्माणका लागि बिनियोजित रकम लागत स्टेमेटभन्दा ६२ लाख कम छ तर मेयर र प्रमुख प्रशासकीय अधिकृतले विनियोजित बजेटमै ३० लाख घटाएर ठेक्का टेण्डर गर्न भनेको योगीले जानकारी दिनुभयो तर वडाध्यक्ष मानबहादुर रावतले नगरसभाले पारित गरेको बजेटभन्दा कम रकममा टेण्डर आह्वान गरिए काम गर्न नदिने भनेपछि प्रक्रिया रोकिएको उहाँले बताउनुभयो ।
यस विषयमा वडा अध्यक्ष रावतसँग बुझ्दा आफुले पनि प्राविधिकसँग बिनियोनित रकम कटौती भएको जानकारी पाएको बताउनुभयो । यस विषयमा नगर प्रमुखसँग कुराकानी गर्न खोजे पनि फोन सम्पर्क हुन नसकेको उहाँको भनाई छ । आफू नागरिकसँगै भएको भन्दै वडाध्यक्ष रावतले नागरिकको हितविपरित कुनै पनि काम नगर्ने दाबी गर्नुभयो । पालिकामा पछिल्लो समय विभिन्न क्षेत्रमा विवाद चुलिदै गएपछि लामो समयदेखि कार्यपालिका बैठकसमेत बोलाइएको छैन । गत असारमा भएको कम्प्यूटरलगायतका प्रविधि खरिदको विषय विवादित बनेपछि कार्यपालिका बैठक नै नबोलाइएको स्रोतले बताएको छ ।

