दाङ,६ भदाै ।
बाजुरा जिल्लाको प्रसिद्ध धार्मिक स्थल बडीमालिकामा पुष्पन हेल्थ नेपालको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ।

शिविरमा रेडियोलोजी विशेषज्ञ डा. पुष्पराज रिजालको नेतृत्वमा पुगेको टोलीले हजारौं भक्तजन,स्थानीय तथा पुजारीलाई स्वास्थ्य नि:शुल्क स्वास्थ्य सेवा प्रदान गरेको हो।मन्दिरमा भक्तजनहरू विशेष गरी जनैपूर्णिमा (श्रावण शुक्ल पूर्णिमा) को समयमा मन्दिरको दर्शन गर्न पुग्ने गर्दछन्। यो समयमा त्यहाँ ठूलो मेला पनि लाग्दछ, जसमा नेपालका विभिन्न क्षेत्रहरूबाट भक्तजनहरू पुग्ने गर्दछन्।
बाजुरा पुग्नु अघि गएकाे साउन २९ गते कालिकोटको रासकोट नगरपालिकामा रहेकाे पुकोट स्वास्थ्य चौकीमा गर्भवती महिलाकाे लागि निःशुल्क भिडियो एक्सरे शिविरसमेत सञ्चालन गरिएको थियो। उक्त शिविरमा एक सय बढी महिलाहरूले स्वास्थ्य सेवा लिएकाे डाक्टर रिजालले बताउनुभयाे। शिविरमा गर्भवती र पेट सम्बन्धि समस्या भएका महिलाहरूलाई नि:शुल्क भिडियाे एक्सरे सेवा प्रदान गरिएकाे थियाे ।

रासकाेटमा सञ्चालित स्वास्थ्य शिविरपछि रेडियाेलाेजि डाक्टर रिजालकाे नेतृत्वमा सात जना स्वास्थ्यकर्मीकाे टोली कालिकोटबाट चार दिनको पैदल यात्रापछि बडीमालिका पुगेको थियो।बडीमालिका नेपालको सुदूरपश्चिमकाे बाजुरा जिल्लामा अवस्थित एक प्रमुख धार्मिक स्थल हो। यो मन्दिर समुन्द्री सतहबाट करिब ४ हजार २ सय ६७ मिटरको उचाइमा रहेको छ।
यसवर्ष जनैपूर्णिमाका अवसरमा लाग्ने मेलामा सहभागी भक्तजन,पुजारी र स्थानीय सर्वसाधारणका लागि ब्लड प्रेसर, सुगर तथा तत्काल देखापरेका समस्याहरूकाे स्वास्थ्य जाँच र औषधि सेवा प्रदान गरिएको थियो।

शिविरमा सहभागिता जनाएका भक्तजनहरूका अनुसार दुर्गम क्षेत्रमा आयाेजना भएकाे शिविरले स्वास्थ्य सेवा पहुँचबाट टाढा रहेका नागरिकहरूलाई राहत प्रदान गरेको बताएका छन्।बडीमालिका क्षेत्रको दुर्गम पहुँच र पैदल यात्रा गर्दा पर्ने कठिनाइका बावजुद शिविर सञ्चालन गरिएको भन्दै स्थानीयहरूले संस्थाप्रति आभार प्रकट गरेका छन्।
पुष्पन हेल्थ नेपालले यसअघि पनि विभिन्न विपदमा परेका जनतालाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ। जाजरकोटमा गएको भूकम्पपछि त्यहाँका प्रभावित जनताका लागि समेत संस्थाले निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो।

