२०८१ असोज १८ गते शुक्रवार

दमारगाउँ चर्चको दोस्रो साधारण सभा, हरेक वडामा समाधिस्थल बनाउनुपर्नेमा जाेड



दाङ, २३ भदौ ।
तुलसीपुर-३ मा रहेको दमारगाउँ चर्चले दोस्रो साधारणसभा गरेको छ । चर्चका अध्यक्ष धनसरा बिकको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीको प्रमुख आतिथ्यता एवं तुलसीपुर-३ का वडाअध्यक्ष बिजय बिकको विशिष्ट आतिथ्यतामा साधारणसभा सभा उद्घाटन कार्यक्रम भएको हो ।

त्यस अवसरमा उपप्रमुख चौधरीले संस्कारयुक्त मानव निर्माणमा सबैले भूमिका खेल्नुपर्ने बताउनुभयो । उहाँले सबै धर्मको सार दुखमा एक-अर्कालाई सहयोग गर्नु नै रहेको बताउनुभयो । भोलिको सुन्दर समाज निर्माणका लागि आजका बालबालिकालाई संस्कारयुक्त शिक्षा दिनुपर्ने बताउनुभयो ।

वडाध्यक्ष बिकले चर्च दर्ता गरेर मात्रै चलाउनुपर्ने बताउनुभयो । राज्यले वैधानिक मात्रैलाई आर्थिक सहयोग गर्ने गरेको उल्लेख गर्दै उहाँले राज्यको व्यवस्थाबाट कोहि पनि टाढा हुन नहुने बताउनुभयो । उहाँले बालबालिकालाई नैतिक कुरा सिकाउन धर्मले अहम भूमिका खेल्ने बताउनुभयो ।

महिला उद्यमी सपना भण्डारी बस्नेतले धर्मको अर्थ सत्य कर्म , सत्य बोल्नु रहेको बताउनुभयो । साधारणसभामा पाष्टर टोप बहादुर महताराले धर्मका आधारमा विभेद गर्ने परिस्थितिको अन्त्य हुनुपर्ने बताउनुभयो । उहाँले आगामी दिनमा तुलसीपुरका सबै वडामा समाधिस्थल बनाउने योजनामा रहेको बताउनुभयो ।

यस कार्यक्रममा सहयोग गर्न सम्बन्धित पक्षलाई उहाँले आग्रह समेत गर्नुभएको छ । उहाँले असल कार्यमा सबैको समन्वय आवश्यक रहेकोमा जोड दिनुभयो । पास्टर ललित बुढाले सबै धर्मको सम्मान गर्नुपर्नेमा जोड दिनुभयो । साधारण सभामा कोषाध्यक्ष गिता विष्ट महताराले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको हो ।

प्रकाशित मिति : २०८१ भाद्र २३ गते आइतवार