२०८१ मङ्सिर २४ गते सोमवार

गंगटेका स्थानीयमा निकुञ्जको त्रास कायमै



दाङ, १ मंसिर ।
नेपाली कांग्रेसको सय दिने संगठन सुदृढिकरण अभियान गंगटेमा भैरहँदा त्यहाँका स्थानियबासीको वेग्लै आक्रोश छ। उनीहरु एकातिर निकुञ्जबाट आउने बन्यजन्तुको आक्रमणले त्राहित्राहि छन् भने अर्कातिर गंगटेको समग्र विकासमा स्थानिय सरकारनै वेखवर रहेको स्थानियबासीले बताएका छन्।

जिल्ला सभापति शंकर डाँगीसहित कांग्रेस नेतृत्व  गंगटे पुग्दा स्थानियबासीले गंगटेको सबैभन्दा ठूलो पिडा निकुञ्जबाट आउने जंगली जनावरको आतंक रहेकाे दुखेसाे पाेखेका थिए। लामाे समयदेखिकाे आफुहरूकाे समस्या रोक्न स्थानिय, प्रदेश  तथा संघिय सरकारसंग उनिहरूले कांग्रेसको घरदैलो अभियानमा माग गरेका हुन्।
‘राजनिति र नेपाली कांग्रेसलाई हामीले राम्ररी बुझेका छौं, अब संगठन विस्तारसंगै यहाँका जनताको दैनिक जनजिविकालाई सुरक्षित बनाउन निकुञ्जमा तारबार गर्न र ववइ नदीमा पक्की तटबन्ध निर्माण गर्न आग्रह गर्दछौं’, ववइ गाउँपालिका-१ का स्थानियबासी पोखरसिंह बुढाले भने। उनले जंगली जनावरले बर्षभरी गुजारा गर्न फलाएको अन्नवाली स्याहानै नदिने समस्याबाट मुक्ती दिने विकल्प खोज्न पनि पार्टी प्रतिनिधिहरुलाई आग्रह गरे।

‘हामी एकातिर निकुञ्ज क्षेत्रबाट आउने वाघ, बँदेल र बाँदरबाट आतंकित छौं, अर्कातिर हामीलाई विकासको अनुभुति पनि हुन सकेको छैन’, गंगटेकै अर्का स्थानियबासी रामबहादुर पुनले भने। गंगटेलाई केही अघि मात्र सडक यातायातले छोएपनि वाह्रै महिना यातायात सुविधा नहुँदा स्थानियबासीलाई निकै कठिनाइ भैरहेको उनले बताए।

‘सुत्केरी वेथाले च्यापेका गर्भवतीलाई एम्बुलेन्समा अस्पताल लैजान पनि समस्या छ’, रामबहादुरले भने, ‘यहाँ आउने बाटो वाह्रै महिना चल्ने बनाउन विनम्र आग्रह गर्दछु।’
गंगटेबासी विरामी परेमा वा सुत्केरी वेथाले च्यापेमा चिन्ना लगाएर ववइ तरेर सम्सेरगन्ज निस्केर कोहलपुर पुग्नुपर्ने बाध्यता रहेको पनि उनले बताए।

त्यसैगरी गंगटेमा सहज रुपमा सफा पिउने पानीको समस्या रहेको, विद्युतको नियमितता नभएको, टेलिफोन सेवा पनि मस्किलले सञ्चालित हुने लगायतका समस्यै समस्या रहेको पनि उनले बताए।

‘यो सडकलाई वाह्रै महिना चल्नेगरी बनाउन हामीले पटक पटक हापुरे गएर स्थानिय सरकारलाई गुहार्यौँ, तर स्थानिय सरकारको यहाँ उपस्थिति नै छैन’, रामबहादुरले स्थानिय सरकारप्रति आक्रोश पोखे। जुन पार्टीको स्थानिय सरकार बनेपनि गंगटे उपेक्षामा परिरहेको उनीहरुको भनाइ थियो।

कांग्रेसको सय दिने अभियानमा पार्टी संगठन सुदृढिकरणको भन्दा पनि स्थानियलाई समावेसी एवं समानुपातिक विकासको चिन्ता थियो। स्थानियबासीले राजनीतिलाई विकास निर्माणसंग जोड्न सकेमात्र आम गंगटेबासीको अपेक्षा पूरा हुने पनि स्थानियबासीको अभिव्यक्ति थियो।

नेपाली कांग्रेस ववइ गाउँपालिका वडा नं १ का इकाइ सभापति डिल्लीबहादुर विष्टको अध्यक्षतामा भएको नेपाली कांग्रेसको सय दिने अभियानलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा नेपाली कांग्रेस जिल्ला सभापति शंकर प्रसाद डाँगीले गंगटेको समस्यामा नेपाली कांग्रेस सधैँ सकारात्मक रहेको बताए।

‘तपाईका यावत समस्यामा नेपाली कांग्रेस दाङ संगै छ, यहाँको समग्र विकास निर्माणका लागि संघ र प्रदेशमा आवाज उठाउने छु’, सय दिने अभियानलाई सम्बोधन गर्दै प्रमुख अतिथि डाँगीले भने।

गंगटेको समग्र विकासमा सबैभन्दा बढी नेपाली कांग्रेस चिन्तित रहेको भन्दै वगरपुरदेखि यहाँ आउने सडकलाई वाह्रै महिना चल्ने बनाउन आफूले तीनै तहका सरकार समक्ष पहल गर्ने पनि उनले आश्वासन दिए।

ववइ गाउँपालिका-१ गंगटेमा आयोजित नेपाली कांग्रेसको सय दिने अभियान अन्तर्गतको घरदैलो कार्यक्रमको संयोजन नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि विमल रिजालले गरेका थिए।

कार्यक्रममा विषय प्रवेश गराउँदै महाधिवेशन प्रतिनिधि विमल रिजालले गंगटेको समस्याप्रति नेपाली कांग्रेस गम्भीर रहेको बताउँदै यहाँको यातायात, खानेपानी तथा स्वास्थ्य सेवाका विषयमा कांग्रेसले सधैँ सकारात्मक भूमिका निर्वाह गर्ने बताए।

‘यसै महिनाको अन्तिम साता नेपाली कांग्रेस दाङ र तुलसीपुर सिटी अस्पतालको आयोजनामा हामीले गंगटेमा विशेषज्ञ सहितको निशुल्क शिविरको आयोजना गर्नेछौँ’, महाधिवेशन प्रतिनिधि रिजालले भने।

कांग्रेस हरेक जनताको सुख दुखमा साथ दिने पार्टी भएको स्मरण गर्दै उनले गंगटेको समृद्धिका लागि पार्टीले हरतरहले प्रयास गर्ने पनि बताए।

सो अवसरमा नेपाली कांग्रेस निर्वाचन क्षेत्र नं ३ ख का सभापति खिमबहादुर वली, नेपाली कांग्रेस क्षेत्रीय सचिव पूर्णबहादुर केसी, जिल्ला सदस्य शंकर प्रसाद शर्मा, ववइ गाउँ इकाइ सभापति प्रकाश बस्नेत, उद्योग व्यापार समिति दाङका सदस्य दुर्गाबहादुर खड्का लगायतले सय दिने अभियानका विषयमा चर्चा गरेका थिए।

साउन महिनामै सुरु भएको नेपाली कांग्रेसको सय दिने अभियान अविरल वर्षातका कारण भएको क्षतिका कारण रोकिएको थियो। त्यसपछि पर्वहरु नजिकिएसंगै तिहारपछि पुनः नेपाली कांग्रेसको सय दिने अभियान सुरु भएको छ। नेपाली कांग्रेस दाङले पनि सय दिने अभियानका लागि जिल्लाका सयवटै वडाहरुमा प्रतिनिधि खटाएको कांग्रेस दाङका सभापति शंकर प्रसाद डाँगीले बताएका छन्।

गंगटेमा आयोजित सय दिने अभियानको सहजीकरण ववइ गाउँपालिका कार्यपालिका सदस्य मोतिसरा विकले गरेका थिए।

 

 

प्रकाशित मिति : २०८१ मङ्सिर १ गते शनिवार