दाङ, २२ मंसिर ।
तुलसीपुर-७ स्थित राप्ती शान्ति उद्यानमा फोहोर व्यवस्थापनका लागि डस्टबिन सहयोग गरिएको छ । राप्ती समाज अमेरिकाको आर्थिक सहयोग र तुलसीपुर नगर जेसिजको नेतृत्वमा २० वटा डस्टबिन उद्यानलाई सहयोग गरिएको हो ।
आज एक कार्यक्रमकाबीच डस्टबिन हस्तान्तरण गरिएको छ । कार्यक्रममा राप्ती समाज अमेरिकाका अध्यक्ष सुरेश हमालले सुन्दर र सफा वातावरण निर्माणमा सहयोग पु¥याउने उद्देश्यले डष्टबिन सहयोग गरिएको बताउनुभयो । उहाँले सार्वजनिक स्थानहरूको सरसफाइका लागि यस्ता साना कदमहरूले दीर्घकालीन प्रभाव पार्ने बताउनुभयो ।
तुलसीपुर नगर जेसिजका अध्यक्ष पूर्णबिक्रम डाँगीले फोहोर व्यवस्थापनमा जनचेतना वृद्धि गर्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो । उहाँले डस्टबिनको सहयोगले उद्यानमा आउने आगन्तुकलाई फोहोर व्यवस्थापनमा प्रेरित गर्ने र उद्यानलाई थप सफा राख्न मद्दत पुग्ने विश्वास गरिएको बताउनुभयो ।
उद्यानका अध्यक्ष डिल्लीराज भण्डारीले डष्टबिन सहयोग गरिएकोप्रति कृतज्ञता प्रकट गर्नुभयो । कार्यक्रमको सहजीकरण कार्यालय प्रमुख खेमराज विश्वकर्माले गर्नुभएको हो । राप्ती शान्ति उद्यान दाङकै प्रमुख पर्यटकियस्थल हो ।