२०८१ माघ ६ गते आइतवार

स्थानीय उत्पादनलाई प्रोत्साहन गर्दै तुलसीपुरमा सचेतना बोर्ड अभियान



दाङ, २३ मंसिर ।
तुलसीपुरमा स्थानीय तथा घरेलु उत्पादनको प्रवद्र्धनका लागि सचेतना बोर्ड राख्न थालिएको छ । ‘उद्यमशिल संस्कृति, राष्ट्रको समृद्धि’ भन्ने मूल नाराका साथ स्थानीय वस्तुको उत्पादन र बजारीकरणका लागि सचेतना बोर्ड राख्न थालिएको हो ।

तुलसीपुर उपमहानगरपालिकाको समन्वयमा नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरले ठाउँ-ठाउँमा सचेतना बोर्ड राख्न थालेको महासंघका अध्यक्ष लाल बहादुर केसीले जानकारी दिनुभयो । उहाँका अनुसार आज तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८ मा सचेतना बोर्ड राखिएको छ ।

नगरका १९ वटै वडामा सचेतना बोर्ड राखिने अध्यक्ष केसीले बताउनुभयो । उहाँले आर्थिक विकासका लागि स्थानीय वस्तुको उत्पादन र प्रयोग अनिवार्य रहेको बताउनुभयो ।

स्थानीय वस्तुको उत्पादन र बजारीकरण गरी घरेलु तथा साना उद्योगीको प्रोत्साहन हुने र आर्थिक विकास पनि हुने उहाँले बताउनुभयो । तुलसीपुर उपमहानगरपालिका आर्थिक विकास समितिका संयोजक माधव वलीले स्थानीय उत्पादनको प्रयोगमा बढवा दिनका लागि पनि सचेतनाको आवश्यकता रहेको बताउनुभयो ।

उहाँले आर्थिक समृद्धिका लागि स्थानीय सरकारले स्थानीय उत्पादन र बजारीकरणलाई जोड दिएको बताउनुभयो । तुलसीपुरमा उत्पादन हुने वस्तुको बजारीकरण गरी आर्थिक विकास गर्न सकिने उहाँको भनाइ छ । उहाँले घरेलु तथा साना उद्योगीलाई प्रोत्साहित गर्नका लागि स्थानीय सरकारले आवश्यक योजना बनाउन थालेको बताउनुभयो ।

तुलसीपुर उपमहानगरपालिकाका उद्योग प्रवद्र्धनका शाखा प्रमुख रेखा शर्माले तुलसीपुरको आर्थिक विकासका लागि उपमहानगरपालिकाले अहिले स्थानीय उत्पादनको प्रयोग गर्न नागरिकलाई सचेतना दिन ठाउँ-ठाउँमा बोर्ड राख्ने अभियान शुरु भएको बताउनुभयो । उहाँले बाहिरको वस्तु आयात गरेर समृद्धि हासिल गर्न नसकिने भन्दै स्थानीय वस्तुको प्रयोग बढ्नुपर्ने बताउनुभयो ।

प्रकाशित मिति : २०८१ मङ्सिर २३ गते आइतवार