दाङ, २१ पुस ।
तुलसीपुर-७ पर्सेनी चोकमा रहेको पिपलको रुख काटिएको छ । बाटोको छेउमा भएको पिपलको रुखले बाटो साघुरो भएर दुर्घटनाको जोखिम बढेको, विद्युत प्रसारण लाइनमा बाधा पुगेकोे, सडक निर्माणमा अबरोध भएकोे, रुख जिर्ण हुँदा मानव बस्ती नै जोखिममा परेको भन्दै स्थानीयको मागलाई सम्बोधन गरी रुख कटान गरिएको वडा नम्बर-७ का वडा अध्यक्ष रामबहादुर जिसीले जानकारी दिनुभयो ।
तुलसीपुर हुँदै खाद्रे–बनहरी जोड्ने सडकमा भएको एउटा पिपलको रुख आज (आइतबार) काटिएको वडा अध्यक्ष जिसीले जानकारी दिनुभयो । ८ मिटर उचाई रहेको १९३.६० क्यू फिटको रुख आज काटिएको हो ।
उहाँले प्रदेश वन ऐन २०७८ को दफा ७९ बमोजिम तुलसीपुर सब डिभिजन कार्यालयसंग सहमति प्राप्त गरी वन कार्यालयकै प्राविधिक सहयोग रुख कटान गरिएको बताउनुभयो ।
सडक छेउमा भएको रुख काट्नको लागि लामो समयदेखि प्रयास थालेपनि विभिन्न कारणले काम रोकिएके थियो । तर अहिले सडक डिभिजन कार्यालय दाङ, डिभिजन वन कार्यालय, सव डिभिजन कार्यालय तुलसीपुर, नेपाल विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्रको सहकार्यमा रुख काटिएको जिसीको भनाइ छ ।
बाटोमा भएको रुख काटिएपछि स्थानीयलाई सहज भएको समाजसेवी जोगेन्द्र विश्वकर्माले बताउनुभयो । यस्तै टोल अध्यक्ष हरिप्रसाद कडेलले लामो समयदेखि आफ्नो टोलमा अल्झीएको काम सफल भएको बताउनुभयो । यस्तै धारापनी सामुदायीक वनका अध्यक्ष दिपक केसी, समाजसेवी जगत थापाले रुख काटेर बाटो खुल्ला हुँदा सबैलाई सजिलो भएको बताउनुभयो ।
यसैविच पिपल रुखसंगै राखिएको प्रहरी बिट स्थानान्तर गरिएको छ । ज्यान ज्योति विद्यालय तुलसीपुर-७ बम्नैका प्रधानाध्यापक टिकाबहादुर जिसीले उपलब्ध गराएको प्रहरी बिट घोराही तुलसीपुर सडकको पूर्व-उत्तरतिर स्थानान्तर गरिएको अध्यक्ष जिसीले बताउनुभयो ॥

