
दाङ,२४ पुस ।
तीन दिनसम्म चलेको केन्द्रीय कमिटीको बैठक सकेर नेकपा एमालेका करीब साढे तीन सय नेताहरू उत्साहपूर्वक आफ्नो भूगोलमा फर्कदैछन्। विभिन्न विषयमा पार्टीमा भएका विवाद, बहस असमझदारीलाई अन्त्य गर्दै नयाँ उर्जा लिएर पार्टी निर्माणको अभिायनमा सफल पार्न आफूहरू भूगोलतिर प्रस्थान गरेको नेताहरु बताउँछन् ।
दाङ जिल्ला क्षेत्र नं. ३ प्रदेश (क) एवं युरोप अमेरिका प्रवासका इन्चार्ज घनश्याम पाण्डे वडा केन्द्रीत अभियानले पार्टी जरासम्मै जान खोजेको सन्देश दिने बताउनुहुन्छ। २०७९ माघदेखि चैतसम्म सञ्चालन भएको मिसन ग्रासरुट कै दोस्रो संस्करणको रुपमा यसपालीको वडा केन्द्रित अभियान आएको पाण्डेको भनाइ छ।
‘मिसन ग्रासरुट भाग-२ को रुपमा वडा केन्द्रित अभियान आएको छ’ पाण्डेले भन्नुभयो, ‘जनतामा विश्वास जगाउने, पार्टीप्रति आकर्षण बढाउने, पार्टी र सरकारले गरेका राम्रा कामको प्रचार घरघर पुर्याउने कामको जिम्मेवारी लिएर कार्यक्षेत्र फर्कदैछौं।’
१०औं महािधवेशन पछि आठौं बैठकमा आइपुग्दा इच्छुक नेताहरूले पार्टी अध्यक्षसँग बैठकमै कुरा राख्ने अवसर पाएका छन्। एमालेले इच्छुक केन्द्रीय सदस्यहरूलाई बोल्न समय दिएपछि करीब १६० जना नेताहरूले पार्टीको ‘ग्राउण्ड रियालिटी’ नेतृत्वलाई बुझाएका छन्। जसले गर्दा नेतृत्वले पार्टी कार्ययोजना बनाउँदा फराकिलो दृष्टिकोण बनाउन सक्ने एमाले नेताहरुको बुझाइ छ।