२०८३ बैशाख २० गते आइतवार

मतवा संघको आयोजनामा बनहरीमा पहिलो पटक माघी महोत्सव



तुलसीपुर-२७ पुस।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ बनहरीमा पहिलो पटक माघ महोत्सवको आयोजना गरिएको छ। बनहरीसहित माथिल्लो हलवार र तल्लो हलवार गरेर तीन गाउँका थारु समुदायको सक्रियतामा मतवा संघको आयोजना तथा वडाको आर्थिक सहयोगमा आज (शनिबार) माघ मिलन कार्यक्रम गरिएको हो।

मतवा माघ मिलन कार्यक्रमका संयोजक भुवनसिंह चौधरीको अध्यक्षता तथा वडा अध्यक्ष तुलसी थापाको प्रमुख आतिथ्यतामा सो कार्यक्रम भएको हो।

प्रमुख अतिथि थापाले लोप हुँदै गएको भाषा र संस्कृतिको संरक्षणका लागि एकपटक थारु समुदायसँगै सबै समुदायले सोच्नुपर्ने बेला भएको बताउनुभयो। आफू निर्वाचित भएर आएदेखि नै सबै जातजातिका भाषा र संस्कृतिको संरक्षणका लागि ध्यान दिएको बताउँदै थारु समुदायको मुख्य चाड माघीलाई विशेष प्राथमिकता दिएको बताउनुभयो।

आगामी वर्ष पनि यसैगरी थारु समुदायको भाषा र संस्कृतिको संरक्षणका लागि स्थानीय सरकारसँग समन्वय गरेर व्यवस्थित तरिकाले कार्यक्रम सञ्चालन गर्न आग्रह गर्दै त्यसका लागि सहयोग गर्न स्थानीय सरकार प्रतिबद्ध रहेको बताउनुभयो।

कार्यक्रममा वडा सदस्य दामोदर न्यौपाने, बनहरी टोल विकास संस्थाका अध्यक्ष हरिलाल बन्जाडे, रामकुमार चौधरीलगायतले थारु समुदायको एकता र सद्भाव अन्य समुदायका लागि अनुकरणीय रहेको बताएका थिए।

कार्यक्रममा कलाकार राज कुसुम्या र रमेश शर्माले महोत्सवमा दर्शकलाई नचाएका थिए। कार्यक्रममा ६ गाउँको थारु नाँच समेत प्रस्तुत गरिएको थियो। महोत्सवमा प्रस्तुत भएका नाँचहरूमध्ये पशुपति टोल विकास संस्था बनहरी प्रथम, तुलसीपुर–७ को घुसेरी टोल विकास संस्था दोस्रो, तुलसीपुर-४ को तल्लो हलवार टोल विकास संस्था तेस्रो, माथिल्लो हलवार टोल विकास संस्था चौथो र बम्नै मतवा समूह सान्त्वना भएको थियो।

कार्यक्रममा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गर्ने सबै समूहहरूलाई नगदसहित सम्मान पत्रले सम्मान गरिएको हो। यस्तै, नृत्य प्रस्तुत गर्ने जिडी क्लबलाई सम्मानित गरिएको थियो।

थारु संस्कार र संस्कृतिको संरक्षणका लागि आयोजित कार्यक्रममा विभिन्न व्यक्तिहरूलाई सम्मानित गरिएको छ। त्यस अवसरमा ज्येष्ठ नागरिक मनप्यारी चौधरी र चुलाही चौधरी सम्मानित हुनु भएको हो। यस्तै, कार्यक्रममा सबैभन्दा धेरै आर्थिक सहयोग गर्ने शंकर चौधरी, मसराम थारु,सन्दीप चौधरी, भुवनसिंह चौधरी, टेन्ट निःशुल्क उपलब्ध गराउने माथिल्लो हलवार टोल विकास संस्था लगायतलाई सम्मान गरिएको हो।

समितिका सदस्य सम्झना चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण शंखु चौधरीले गर्नुभएको थियो।

प्रकाशित मिति : २०८१ पुष २७ गते शनिवार