
दाङ, ३ माघ ।
दाङको तुलसीपुर उपमहानगरपालिका-१९ छिल्लीकोटमा चैतमा पाक्ने काफल पुस महिनामै पाकेको छ । स्थानीय परवीर पुनले ‘गएको वर्ष जेठसम्म पनि चैते काफल नपाकेको छिल्लीकोटमा यस वर्ष भने पुसमै पाकेको बताउनुभयो ।
केही वर्षअघिसम्म चैते काफल चैतमै पाक्ने गरेको भए पनि पछिल्लो समय कहिल्यै अघि र कहिल्यै पछि पाक्दा आफूहरू अचम्मित भएको उहाँको भनाइ छ । यस वर्ष पुसमै काफल चाख्न पाएको पुनले जानकारी दिनुभयो ।
उहाँका अनुसार पुसको तेस्रो हप्तादेखि नै काफल पाक्न थालेको हो । तुलसीपुर उपमहानगरपालिकाका कृषि महाशाखा प्रमुख धनराज गौतमले जलवायु परिवर्तनका कारण यस्तो समस्या देखिने गरेको बताउनुभयो ।
उहाँका अनुसार चिसो मौसममा १० डिग्रीभन्दा कम तापक्रम नहुँदा यसरी अगाडि नै काफल पाकेको हो । बिरुवामा हर्मोनल प्रभावले यसरी समयभन्दा ढिलो र छिटो हुने गौतमको भनाइ छ ।
बिरुवामा पातको मुना आउने र फूलको मुना आउने आ–आफ्नै समय हुने गरेको भए पनि यसपटक सँगसँगै पातको मुना र फूलको मुना आउँदा पनि त्यस्तो प्रभाव परेको हुनसक्ने उहाँको भनाइ छ ।