२०८२ असार ३ गते बुधवार

जेष्ठ नागरिकलाई जाडोमा कतै कपडा त कतै मह वितरण



तुलसीपुर,१० माघ ।
जाडोयाममा जेष्ठ नागरिकको स्वास्थ्यमा सहयोग पुग्ने ध्येयले कतै न्यानो कपडा त कतै मह वितरण सुरु भएको छ । स्थानीय सरकारले जेष्ठ नागरिकप्रतिको दायित्वस्वरुप विभिन्न कार्य गर्दै आएका छन् ।

बिहिवार दिउँसो तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ वडा कार्यालयमा न्यानो कपडा लिन आउनुभएका ८१ वर्षिय नन्दराम रोका खुसी मुद्रामा देखिनुहुन्थ्यो ।रोकाले भन्नुभयो- वडाले हामीलाई सम्झियो,यो जाडोमा लगाउने ऊनकै टोपी,ऊनकै स्वीटर दियो ।

रोका मात्रै होइन वडा कार्यालयले वडाभित्र बसोबार गर्ने ८० वर्ष उमेर पुगेका ६० जना जेष्ठ नागरिकलाई ऊनको टोपी,ऊनकै स्वीटर र बर्को उपलब्ध गराएको कार्यवाहक वडाध्यक्ष रामबहादुर पौडेलले बताउनुभयो । पौडलका अनुसार वडा कार्यालयले प्रत्येक वर्ष जाडोयाममा जेष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण गर्दै आएको छ ।

न्यानो कपडा वितरण गर्दै राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले जेष्ठ नागरिकले समाजमा पु¥याएको सामाजिक योगदानस्वरुप सरकारले दायित्व निभाएको बताउनुहुन्छ ।

अध्यक्ष विश्वकर्माले जेष्ठ नागरिक जीवनका भोगाई सुन्ने सुनाउने अनुभव केन्द्र,दिवा केन्द्र र मनोरञ्जस्थल  टोल टोलमा बनाउन स्थानीय सरकारलाई आग्रह गर्नुभयो । उहाँले जेष्ठ नागरिकको सम्मान गर्न सके मात्रै देशको विकास हुन सक्ने बताउनुभयो ।

त्यस्तै तुलसीपुर उपमहानगरपालिकाले १९ वटै वडामा जेष्ठ नागरिकलाई मह वितरण सुरु गर्न थालेको छ । सामाजिक विकास समितिका संयोजक मानबहादुर रावतले गत वर्ष १९ वटै वडामा जाडोयाममा न्यानो कपडा वितरण गरिएको र यस वर्ष नयाँ कार्यक्रमस्वरुप मह वितरण गर्न थालिएको बताउनुभयो । उहाँले ६० वर्ष उमेर पुगेका विपन्न समुदायका जेष्ठ नागरिकलाई मह वितरण गरिने बताउनुभयो ।

 

प्रकाशित मिति : २०८१ माघ १० गते बिहिवार