दाङ, ५ माघ।
पौडेल वंश महासङ्घ नेपाल, दाङको प्रथम अधिवेशनको तयारी तीव्र पारिएको छ। आगामी फागुन १० गते तुलसीपुरमा हुने अधिवेशनका लागि आज (शनिबार) बबई गाउँपालिका स्तरीय तयारी बैठक भएको छ।
महासङ्घ बबई गाउँपालिका अध्यक्ष डिल्ली पौडेलको अध्यक्षता, केन्द्रीय सदस्य हरिहर पौडेलको प्रमुख आतिथ्यता तथा लुम्बिनी प्रदेश सचिव भरतमणि पौडेल र जिल्ला अध्यक्ष रामकुमार पौड्यालको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको हो।
पौडेल वंश महासङ्घ नेपाल, दाङको प्रथम अधिवेशनलाई भव्य र सभ्य रूपमा सम्पन्न गर्न तयारी बैठक राखिएको संघका बबई गाउँपालिका अध्यक्ष डिल्ली पौडेलले जानकारी दिनुभयो।
अधिवेशनमा बबईबाट संघको कार्यसमिति अनिवार्य रूपमा सहभागी हुनुका साथै अन्य पौडेल बन्धुको परिवारबाट कम्तीमा एक जना सदस्य अनिवार्य रूपमा सहभागिता जनाउने निर्णय गरिएको छ। यस्तै अधिवेशन सम्पन्न गर्न आवश्यक आर्थिक संकलनको जिम्मेवारी संघका पालिका अध्यक्ष डिल्ली पौडेललाई दिइएको छ।
अधिवेशन उद्घाटनका लागि केन्द्रीय अध्यक्ष हरिराम पौडेल दाङ आउन लाग्नुभएको छ। यसैबीच आगामी फागुन १० गते तुलसीपुरमा हुने प्रथम अधिवेशनमा उपस्थितिका लागि सम्पूर्ण पौडेल बन्धुहरूलाई जिल्ला अध्यक्ष रामकुमार पौडेलले अपिल गर्नुभएको छ। पौडेल बन्धुहरूको एकता र भातृत्वको सन्देश प्रवाहका लागि कार्यक्रममा उपस्थित हुन उहाँले अनुरोध गर्नुभएको हो।
शनिबारको तयारी बैठकमा तुलसीपुर नगर समिति अध्यक्ष कालिका प्रसाद पौडेल, शान्तिनगरका अध्यक्ष कृष्णकुमार केसी पौडेल लगायत पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

