२०८३ बैशाख २० गते आइतवार

घोराहीमा पनि कपडा बैंक सञ्चालन :“सानो सहयोग, ठूलो परिवर्तन”



दाङ, २६ माघ ।

घोराहीमा आजदेखि कपडा बैंक सञ्चालनमा आएको छ। आर्थिक रूपमा कमजोर तथा विपन्न समुदायलाई निःशुल्क कपडा उपलब्ध गराउने उद्देश्यले सुरु गरिएको यो अभियान विस्तार हुँदै गएको छ। तुलसीपुरबाट सुरु भएको कपडा बैंक अभियान प्रभावकारी हुँदै गएपछि शनिबारदेखि घोराहीमा पनि सञ्चालनमा ल्याइएको हो। यो संगै दाङका मुख्य दुई ठुला शहर तुलसीपुर र घोराहीमा कपडा बैंक सञ्चालन भएका छन् ।

तुलसीपुर उपमहानगरपालिका-७, जितपुरका समाजसेवी उपेन्द्र पौडेल तथा घोराही उपमहानगरपालिका-१५ का रविन ज्ञवालीले गत पुस २७ गते तुलसीपुरको नयाँ बसपार्कमा कपडा बैंक स्थापना गर्नुभएको थियो। त्यसको एक महिनापछि आज घोराहीको भानु चोकमा, प्रहरी बिट नजिकै, कपडा बैंक सञ्चालनमा ल्याइएको पौडेलले जानकारी दिनुभयो।

समाजसेवी पौडेलले भन्नुभयो,हुनेले दिन सकून्, नहुनेले लिन सकून् भन्ने उद्देश्यले तुलसीपुरबाट अभियान सुरु गरेका थियौँ। अहिले स्थानीय संघसंस्था, व्यवसायी, युवा तथा विभिन्न सामाजिक समूहहरूको समेत संलग्नता बढ्दै गएको छ, जसले गर्दा हामी अझै उत्साहित भएका छौँ। यही उत्साहकै कारण घोराहीमा पनि कपडा बैंक सञ्चालनमा ल्याएका हौँ।”

सामाजिक अभियन्ता रविन ज्ञवालीका अनुसार कपडा बैंकमा नयाँ तथा प्रयोग गर्न मिल्ने पुराना कपडा संकलन गरी आवश्यक व्यक्तिहरूलाई वितरण गर्ने व्यवस्था मिलाइएको छ। इच्छुक नागरिकहरूले आफूलाई अनुपयोगी भएका, तर अरूका लागि उपयोगी हुन सक्ने कपडा दान गर्न सकिने बताउनुभयो । कपडा बैंक अभियानले समाज परिवर्तनका लागि महत्त्वपूर्ण भूमिका खेल्ने उहाँको विश्वास छ। घोराहीमा पहिलो दिन नै कपडा दान गर्नेहरुको संख्या उल्लेख्य रहेको पाइएको छ ।

 

कपडा बैंकमा कसरी दान गर्न सकिन्छ?

कपडा बैंकमा इच्छुक व्यक्तिहरूले नयाँ वा प्रयोग गर्न मिल्ने सफा कपडा दान गर्न सक्छन्। दान गर्न चाहनेहरूले निम्न माध्यमबाट सहयोग गर्न सकिन्छ ।

  • प्रत्यक्ष रूपमा कपडा बैंकमा गई दान गर्ने।
  • सम्पर्क नम्बर मार्फत जानकारी दिएर संकलन टोलीलाई बोलाउने।
  • स्थानीय संघसंस्था वा स्वयंसेवी समूहमार्फत सहयोग गर्ने।

 

प्रकाशित मिति : २०८१ माघ २६ गते शनिवार