
दाङ,६ फागुन।
दंगीशरण गाउँपालिका-२ कलमखोलामा रहेकाे हाम्रो राजाकोट बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्ना उद्यमी सदस्यहरूको सुरक्षाका लागि नि:शुल्क बीमा गरिदिने भएको छ। सहकारीले वार्षिक म्यादी जीवन बीमा योजनाअन्तर्गत प्रत्येक उद्यमी सदस्यलाई १ लाख बराबरको बीमा गरिदिने निर्णय गरेको हाे।
जोखिम न्यूनीकरणका लागि बीमा सम्झौता कृषि वन उद्यममा आधारित उक्त सहकारीले सञ्चालन गरेका दुनाटपरी र बाँसको झाडु उत्पादनमा संलग्न सदस्यहरूको आर्थिक सुरक्षाका लागि बीमा योजना लागू गरेको संस्थाको उपाध्यक्ष चक्र मिलन विश्वकर्माले बताउनुभयो ।
उपाध्यक्ष विश्वकर्माका अनुसार सम्भावित जोखिम न्यूनीकरण गर्ने उद्देश्यले गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेड र सहकारीबीच औपचारिक सम्झौता भएको छ।
सम्झौताअनुसार,काम गर्ने क्रममा सदस्यहरू घाइते भएमा उपचारका लागि१० हजारसम्म औषधि खर्च,मृत्यु भएमा २ लाख (बीमांक रकमको दोब्बर) र काजकिरिया खर्च वापत २५ हजार प्रदान गरिनेछ।
सहकारीमा कार्यरत कर्मचारीहरूलाई पनि नि:शुल्क बीमा गरिने भएको छ। साथै शेयर सदस्यहरूले धितो वा विना धितो ऋण लिँदा बीमा अनिवार्य गरिएको छ। यस्तै
ऋणी सदस्यहरूले सानो बीमा शुल्क तिरेर न्युनतम १० हजारदेखि अधिकतम ५ लाखसम्म बीमा सुविधा लिन सक्ने व्यवस्था मिलाइएको छ।