
तुलसीपुर, २३ फागुन । पछिल्लो समय समाजमा शान्तिको खडेरी परिरहेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । हरेक व्यक्तिको मनमनदेखि लिएर परिवार, समाज देशमा शान्तिको अभाव खड्किरहेको भन्दै शान्तिको खोजी गर्न आवश्यक रहेकोमा जोड दिएका हुन् ।
तुलसीपुरमा आयोजित शान्ति, सद्भाव, राष्ट्रियता, जागृती अभियान कार्यक्रममा बोल्ने वक्ताहरुले अद्यात्मिक ज्ञानले मात्रै जीवनमा शान्ति प्राप्त गर्न सकिने भएकाले हरेक नागरिकले अद्यात्मिक ज्ञान लिनु पर्ने बताएका हुन् ।
सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका पूर्व स्वास्थ्य राज्य मन्त्री हिराचन्द्र केसीले विकृतीतिर गइरहेको समाजलाई सुधार गर्ने र संस्कृतिलाई जोगाउनु पर्ने बताउनु भयो । उहाँले समाजलाई सुन्दर र राष्ट्रलाई व्यवस्थित बनाउने अभियानमा लाग्नु पर्ने भन्दै आफूले पनि साथ र सहयोग गर्ने बताउनुभयो ।
कार्यक्रमका विशिष्ट अतिथि लुम्बिनी प्रदेशका सांसद रेखा शर्माले मान्छेले छोएको मान्छेले नखाने प्रवृति अझै पनि रहेकाले यसलाई परिवर्तन गर्नु पर्ने बताउनु भयो । समाजलाई स्वस्थ्य बनाउन समाजमा रहेको विभेदहरुलाई हटाउँदै जानुपर्ने उहाँको भनाइ थियो ।
समाजमा ज्ञान छर्केर सबैलाई ज्ञानी बनाउन उहाँले महात्मा बाइजीहरुलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा नेपाल मानव धर्म सेवा समिति केन्द्र प्रमुख महात्मा चमेली बाइजी, लुम्बिनी प्रदेश क्षेत्र प्रभारी महात्मा अम्विका बाइजीे, कर्णाली प्रदेश क्षेत्र प्रभारी महात्मा निर्मला बाइजीले सबैले ज्ञानको महत्त्व बुझेर आत्माको दर्शन गर्न सुझाव दिनुभयो ।
धर्म र ईशवर एउटै रहेकाले इश्वर प्राप्त गर्न ज्ञानी बन्न उहाँहरुको आग्रह थियो । ज्ञानी बन्न कठिन छ विद्वान बन्न सजिलो रहेको भन्दै हरेक नागरिक विद्धानीसँगै ज्ञानी बन्नु पर्नेका जोड दिनुभयो ।
राप्ती भेरी क्षेत्र प्रभारी चाँदना बाइजीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण संचार संयोजक प्रेम कुमारी मगरले गर्नु भएको थियो । नेपाल मानव धर्म सेवा समिति तुलसीपुरको आयोजनामा शुक्रबार भएको सन्त समागम कार्यक्रम विभिन्न स्थानबाट आएका भक्तजनहरुको सहभागिता रहेको थियो ।