
दाङ, २५ फागुन। तुलसीपुर उपमहानगरपालिका-७ जितपुर निवासी समाजसेवी उपेन्द्र पौडेल आइतबार बिहान दुई छोरीसहित तुलसीपुरको नयाँ बसपार्क पुगेर सडकमा पलेँटी कसेर बस्नुभयो । स्कुटरमा पुगेका उहाँ थर्मसमा चिया, केही फलफूल र अक्षता लिएर सडक मानवहरूसमक्ष पुग्नुभएको थियो । यो दृश्य हेर्न सर्वसाधारणहरू पनि केहिबेर रोकिएका थिए।
पौडेलले सडकमा आश्रय लिएका मानवहरूलाई टिका लगाइदिनुभयो, चिया खुवाएर, केहि फलफूल दिनुभयो अनि दक्षिणा प्रदान गरी उनीहरूको आशिर्वाद ग्रहण गर्नुभयोे। समाजले तिरस्कार गरेका, हेला गरेका व्यक्तिहरूलाई उहाँले जिउँदो देवताको रूपमा सम्मान गर्नुभएको हो ।
किन गरे पौडेलले यस्तो कार्य?
समाजको सोच बदल्ने र सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले आफैंबाट सुरुवात गरेको पौडेल बताउनुहुन्छ ।
पौडेलले भन्नुभयो–“हामी समाजमा परिवर्तन चाहन्छौं भने त्यसको सुरुवात हामी आफैंले गर्नुपर्छ,। सडक मानवहरू पनि हाम्रै समाजका हिस्सा हुन्। उनीहरूलाई हेप्ने होइन, सम्मान गर्नुपर्छ।“
सडक मानवहरूप्रति समाजमा रहेको नकारात्मक दृष्टिकोण हटाएर उनीहरूलाई आत्मसम्मान दिलाउने उहाँको प्रयास प्रेरणादायी छ । समाजसेवी पौडेलको पहलमा यसअघि दाङको तुलसीपुर र घोराही शहरमा कपडा वैङ्क समेत सञ्चालनमा आएको छ । सामाजिक क्षेत्रमा सक्रिए रहेका उहाँले विगतदेखिनै रचनात्मक काम गदै आउनुभएको छ ।