२०८२ जेष्ठ १० गते शनिवार

तुलसीपुर कक्षा ८ को नतिजा : तीन विद्यालय शून्य, चार विद्यालयमा चार जना उत्तीर्ण



तुलसीपुर, २३ चैत। दाङको तुलसीपुरमा सञ्चालित आधारभूत तह कक्षा ८ को नगरस्तरीय परीक्षामा सहभागी तीनवटा सामुदायिक विद्यालयको नतिजा शून्य रहेको छ। त्यस्तै, चार विद्यालयमा भने एक/एक जना विद्यार्थी मात्र उत्तीर्ण भएका छन्।

गतवर्ष पनि तुलसीपुरमा कक्षा ८ को नतिजामा सामुदायिक विद्यालयकाे अवस्था निराशाजनक थियाे ।

तुलसीपुर उपमहानगरपालिकाको शिक्षा महाशाखाले शुक्रबार सार्वजनिक गरेको नतिजा अनुसार,तुलसीपुर उपमहानगरपालिका-३ स्थित मावि प्रतापकोट, वडा नं. १८ मा रहेको माध्यमिक विद्यालय बेल्झुण्डी, र वडा नं. १० को जनजागृति मावि पातुवनगाउँबाट सहभागी सबै विद्यार्थी अनुतीर्ण भएका छन्।

मावि प्रतापकोटबाट १९, मावि बेल्झुण्डीबाट १५ र जनजागृति माविबाट २७ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए।

त्यस्तै, चारवटा विद्यालयमा एक/एक जना मात्र विद्यार्थी उत्तीर्ण भएका छन्। ती विद्यालयहरूमा सृजनशील आधारभूत विद्यालय छोटे, जनता संस्कृत मावि बिजौरी, मावि भित्री संक्राम, र आधारभूत विद्यालय लोहाडबरा खौसापुर रहेका छन्।

सृजनशील आविबाट ३१, जनता संस्कृत माविबाट ६६, मावि भित्री संक्रामबाट २४ र मावि लोहाडबराबाट १३ जना विद्यार्थीले परीक्षा दिएका थिए। तर, ती सबै विद्यालयबाट एक/एक जना मात्र विद्यार्थी उत्तीर्ण भएका छन्। यस्तै सबैभन्दा धेरै विद्यार्थी उत्तीर्ण हुने पशुपति मावि हरिपौरीका  विद्यार्थी रहेका छन्। यस वर्ष विद्यालयबाट ७२ जना विद्यार्थी सहभागी भएकोमा ६८(९४.४४%) जना उत्तीर्ण भएका छन् ।

तुलसीपुर उपमहानगरपालिकाले चैत ३ गतेदेखि सञ्चालन गरेको कक्षा ८ को नगरस्तरीय परीक्षा चैत ९ गते सम्पन्न भएको थियो। परीक्षा सम्पन्न भएको १३ दिनपछि शिक्षा महाशाखाले नतिजा सार्वजनिक गरेको हो।

हेर्नुहाेस नतिजा :

 

प्रकाशित मिति : २०८१ चैत्र २३ गते शनिवार