दाङ, २४ चैत । दाङको तुलसीपुर उपमहानगरपालिकामा कक्षा ८ को वार्षिक परिक्षाको नतिजा गत वर्षको भन्दा खस्कीएको छ । आधारभूत तह अर्थात कक्षा ८ को नतिजा यो वर्ष संस्थागत र सामुदायिक विद्यालयको नतिजा गत वर्षको भन्दा यो वर्ष खस्कीएको पाइएको हो ।
संस्थागत विद्यालयमा गत वर्ष ९४ दशमलव १४ प्रतिशत विद्यार्थी उतिर्ण भएको यो वर्ष ८३ दशमलव २० प्रतिशत विद्यार्थी मात्रै उतिर्ण भएका छन् । सामुदायिक विद्यालयको नतिजा पनि यो वर्ष खस्कीएको छ ।
सामुदायिक विद्यालयमा गत वर्ष ४१ प्रतिशत विद्यार्थी उतिर्ण भएकोमा यो वर्ष ३२ दशमलव ५७ प्रतिशत विद्यार्थी उतिर्ण भएको तुलसीपुर उपमहानगरपालिकाको शिक्षा महाशाखाले जनाएको छ ।यसवर्ष सामुदायिक विद्यालयका १ हजार ७ सय ९३ जना विद्यार्थी परिक्षामा सहभागी भएकामध्ये ५ सय ८४ जनामात्रै उतिर्ण भएका छन् ।
गत वर्ष सामुदायिक विद्यालयका १ हजार ८ सय ५५ विद्यार्थी परिक्षामा सहभागी भएकामध्ये ७ सय ५६ जना उतिर्ण भएका थिए ।यो वर्ष संस्थागत विद्यालयबाट २ हजार ३ सय ५७ जना विद्यार्थी परिक्षामा सहभागी भएकोमा १ हजार ९ सय ६१ जनामात्रै उतिर्ण भएका छन् ।
शिक्षा महाशाखाका अनुसार संस्थागत र सामुदायीक गरी १ हजार ६०५ जना विद्यार्थी अनुतिर्ण भएका छन् ।
जसमा सामुदायिक तर्फ १ हजार २०९ र संस्थागततर्फ ३९६ जना विद्यार्थी रहेका छन् ।
चार वटा विषयसम्म लागेका विद्यार्थीहरु ग्रेडवृद्धि परिक्षामा सहभागीता जनाउन पाउने भएका छन् । ग्रेड वृद्धि परिक्षा बैशाख ७ गते देखि हुने शिक्षा महाशाखा प्रमुख चक्र भण्डारीले जानकारी दिनुभयो ।
यसैबिच नगरस्तरीय परीक्षामा सहभागी तीनवटा सामुदायिक विद्यालयको नतिजा शून्य रहेको छ ।
प्रकाशित मिति : २०८१ चैत्र २४ गते आइतवार