२०८२ फाल्गुन २८ गते बिहिवार

वडा कार्यालय परिसरमा गौतम बुद्धको शालिक स्थापना



दाङ, ७ जेठ । दाङको तुलसीपुर उपमहानगरपालिका-१९ तोप्पापानीस्थित वडा कार्यालयमा गौतम बुद्धको शालिक अनावरण गरिएको छ । बुधबार एक विशेष समारोहका बीच लुम्बिनी प्रदेशका प्रथम मुख्यमन्त्री शंकर पोखरेलले शालिकको अनावरण गर्नुभएको हो ।

मुख्यमन्त्री पोखरेलले गौतम बुद्ध विश्वका महान दार्शनिक तथा शान्तिदूत भएको उल्लेख गर्दै बुद्धको शिक्षालाई अहिलेको सामाजिक र राजनीतिक सन्दर्भमा पनि उतिकै सान्दर्भिक रहेको बताउनुभयो ।

बुद्धले सम्पूर्ण मानव समुदायका लागि शान्तिको सन्देश दिएको बताउँदै उहाँले असल मानव बन्नका लागि झुट नबोल्ने, कामुकता नियन्त्रण गर्ने, मादक पदार्थ सेवन नगर्ने र जुन कुराले समाजमा विघटन ल्याउँछ, त्यस्ता कार्य नगर्ने बुद्धका पञ्चशील सिद्धान्तहरू आज पनि उत्तिकै आवश्यक रहेको बताउनुभयो ।

वडा अध्यक्ष प्रेमनाथ योगीको अध्यक्षता एवं लुम्बिनी प्रदेशका प्रथम मुख्यमन्त्री पोखरेलको प्रमुख आतिथ्यतामा शालिक अनावरण कार्यक्रम भएको हो । शालिक अनावरण कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले बुद्धको शिक्षालाई व्यवहारमा उतार्नुपर्ने बताउनुभयो।

वडा सचिव मेघलाल भूषालका अनुसार बुद्धको शालिक पूर्व प्रतिनिधि सभा सदस्य सुजिता शाक्यको सहयोगमा स्थापना गरिएको हो ।

उहाँले वडावासीको चाहनाअनुसार बुद्धको विचार प्रवाह गर्ने उद्देश्यले शालिक स्थापना गरिएको जानकारी दिनुभयो । वडा सदस्य रेवती विकको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण वडा सदस्य राम बहादुर पौडेलले गर्नुभएको हो ।

प्रकाशित मिति : २०८२ जेष्ठ ८ गते बुधवार