२०८२ असार २७ गते शुक्रवार

अवरुद्ध राप्ती राजमार्ग चार घण्टापछि सञ्चालनमा



सल्यान, १४ जेठ । पहिरोले अवरुद्ध भएको राप्ती राजमार्ग चार घण्टापछि खुलाइएको छ । हिजो मंगलबार राति परेको अविरल वर्षाका कारण कपुरकोट गाउँपालिका-३ चोरखोलामा पहिरो जाँदा राप्ती राजमार्ग अवरुद्ध भएको थियो।

राप्ती राजमार्ग अवरुद्धका कारण रोकिएका गाडीहरु अहिले गन्तव्यतिर निस्केका छन् । सडक स्तरवृद्धि गर्दै आएको निर्माण कम्पनी र सम्बन्धित निकायको एक्स्काभेटर र डोजरले पहिरो पन्छाएपछि राप्ती राजमार्ग सुरु भएको र दुईतर्फी नै गाडी चल्न थालेका जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक बाबुराम बस्नेतले बताउनुभयो ।

एक्स्काभेटरले पहिरो पन्छाएपनि सडक माथिबाट ढुंगामाटो खस्ने सम्भावना भएकाले उहाँले गाडी व्यवसायीलाई सजग भएर गाडी चलाउन र यात्रुलाई पनि आउजाउ गर्दा सजग रहन उहाँले आग्रह गर्नुभयो ।

हिउँद र वर्षात दुवै समयमा बेलाबेलामा पहिरो झरिरहने भएकाले राप्ती राजमार्गको चोरखोला आसपासका क्षेत्रमा यात्रुले बाह्रै महिना सास्ती भोग्नु परेको उहाँको भनाइ छ ॥

प्रकाशित मिति : २०८२ जेष्ठ १४ गते बुधवार