दाङ,२९ असार । कपिलवस्तुमा यात्रुवाहक बस दुर्घटनामा परेको छ । इलाका प्रहरी कार्यालय गाेरूसिङगेका अनुसार काठमाण्डौबाट दाङतर्फ आउँदै गरेको लुम्बिनी प्रदेश ०२–००१ ख ००४५ नं. को बस पूर्व पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको बुद्धभुमी नगरपालिका वडा नं. ९ वेलनदीमा दुर्घटनामा परेको हो ।
बस आफै अनियन्त्रित भई सडकको दायाँ साइडमा पल्टिन पुग्दा २६ जना यात्रु घाइते भएका छन् । प्रहरीका अनुसार घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ ।
आइतबार बिहान ४ बजेतिर भएको र दुर्घटना लगत्तै घटनास्थल पुगेको इलाका प्रहरी कार्यालय गोरुसिङ्गे र ट्राफिक प्रहरीको टोलीले घाइतेहरूको उद्धार गरी अस्पताल पठाएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी डिएसपी मोहनमणि अधिकारीले जानकारी दिनुभयो ।
घाइते मध्ये बुटवल रिफर गरिएकाहरूमा सल्यान बागचौर नगरपालिका वडा नंं १० बस्ने ७७ वर्षीय देवी बुढाथोकी, सल्यान शारदा नगरपालिका वडा नं. १२ का ५६ वर्षीय मोहनलाल बुढाथोकी र दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ का ३५ वर्षीय श्रीधर अधिकारी रहनुभएको छ । तीनै जनालाई बिहान सवा ५ बजेतिर बुटवल रिफर गरिएको हो ।
सञ्जीवनी सामुदायिक अस्पताल चन्द्रौटामा उपचार भइरहेका घाइतेहरूमा रुकुम पश्चिम आठबिसकोट नगरपालिका वडा नं. ८ ज्यामिरेका २८ वर्षीय मोतीलाल ऐरी, सोलुखुम्बुको सोताङ गाउँपालिका वडा नं. ३ बस्ने २१ वर्षीय कोसिस गौतम, सल्यान सिद्दकुमाख गाउँपालिका वडा नं.२ बस्ने १९ वर्षीय अनिता चलाउने, दाङको घोराही उपमहानगरपालिका वडा नं. १८ बस्ने ५२ वर्षीय सचिला नेपाली, अर्घाखाँचीको सितगंगा नगरपालिका वडा नं. ८ बस्ने ६० वर्षीय टुक कुमारी श्रेष्ठ रहनुभएको छ ।
यस्तै सल्यानको बागचौर नगरपालिका १० का २५ वर्षीय चित्र प्रसाद धिताल र रोल्पाको परिवर्तन गाउँपालिका वडा नं.३ बस्ने ३१ वर्षीय ओम प्रकाश खड्का, दाङको राप्ती गाउँपालिका ४ बस्ने २८ वर्षीय रुपा चौधरी, रोल्पाको गंगादेव गाउँपालिका वडा नं. ३ बस्ने ३९ वर्षीय हेमराज वली, पर्वतको मादी गाउँपालिकाका ३९ वर्षीय खड्क बहादुर पुन, सल्यानको छत्रेश्वरी गाउँपालिका १ बस्ने ४३ वर्षीय भीम बहादुर बि.क, सल्यानको बागचौर नगरपालिका ४ बस्ने ४० वर्षीय इन्द्र बहादुर बि.क. दाङको तुलसीपुर उपमहानगरपालिका ११ बस्ने २१ वर्षीय ललित शर्मा, रोल्पाको गंगा देव गाउँपालिका ३ का ३१ वर्षीय सन्दीप वली, डडेलधुराको आलीताल गाउँपालिका ४ का २२ वर्षीय विशाल बोहरा, दाङको दंगिशरण गाउँपालिका २ बस्ने २४ वर्षीय शर्मिला नेपाली, सल्यानको छत्रेश्वरी गाउँपालिका ३ बस्ने ४२ वर्षीय रश्मि बोहरा र दाङको घोराही उपमहानगरपालिका ११ बस्ने ३९ वर्षीय वेद बहादुर वली घाइते हुनुभएको छ ।

