दाङ, १८ साउन । मोटरसाइकलको ठक्करबाट गम्भिर घाइते भएका रोकाको उपचारको क्रममा मृत्यु भएको छ ।
हिजो बिजौरीमा पैदल हिडीरहेका तुलसीपुर उपमहानगरपालिका- १९ बाँसगढीका ६५ वर्षका गौमती रोकाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । रोका बनबाट पात टिपेर छिमेकीको घरमा पात छोड्न जाँदा मोटरसाइकलले ठक्कर दिएको आफन्तीले बताएका छन् ।
रोकाको भेरी अस्पताल नेपालगंज बाँकेमा उपचारको क्रममा हिजो शनिबार साढे ६ बजेतिर मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सुर्य रानाले जानकारी दिनुभयो । शव पोष्टमार्टमका लागि अस्पतालमै राखिएको रानाले बताउनुभयो ।
रोकाको दुवै खुट्टा, टाउको र छातिमा चोट लागेको थियो । घाइते रोकालाई राप्ती प्रादेशिक अस्पताल तुलसीुरमा सामान्य उपचार पछि थप उपचारको लागि कोहलपुर रेफर गरिएको थियो
हिजो दिउँसो साढे २ बजेतिर तुलसीपुर उपमहानगरपालिका–१९ बाँसगढीमा कुटिचौरबाट बिजौरीतर्फ आउँदै गरेको रा.५ प २६७८ नम्बरको मोटरसाइकलले पैदल यात्री रोकालाई ठक्कर दिएको थियो ।
मोटरसाइकलमा दुईजना सवार रहेका थिए । मोटरसाइकल चालक तुलसीपुर उपमहानगरपालिका-७ का १६ वर्षका लक्ष्मण भुसाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ॥

