दाङ, ८ असोज ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरले यसवर्ष महोत्सव संचालनको अनुमति पाउनुपर्ने मागसहित तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्कालाई आठ बुँदे ज्ञापनपत्र बुझाएको छ ।
अध्यक्ष लाल बहादुर केसीको नेतृत्वमा पुगेको उद्योगी व्यवसायीको टोलीले मंगलबार नगरप्रमुख खड्कालाई ८ बुँदे ज्ञापनपत्र बुझाएको हो । स्थानीय उत्पादनको बजारीकरण गरी आर्थिक विकासमा टेवा पुर्याउन महासंघले यसवर्ष महोत्सव संचालनका लागि नगरप्रमुख खड्कालाई अनुमति प्रदान गर्न आग्रह गरेको छ ।
महासंघले औद्योगिक ग्राम स्थापना गरी महासंघ र स्थानीय सरकारको समन्वयमा औद्योगिक तथा अध्ययन प्रर्वद्धन केन्द्र संचालन गर्न, घरेलु कृषक, लघु उद्यमी, साना व्यवसायी, परम्परागत उत्पादनको सहुलियत हाटबजार संचालन गर्नका लागि महोत्सव गर्न लागेको अध्यक्ष लालबहादुर केसीले बताउनुभयो ।
यस्तै व्यवसाय सम्बद्र्धन केन्द्र, कोशेली घर संचालन गर्न, घरेलु तथा साना उद्योगीको पहुँचमा हुने गरी कोल्ड हाउस निर्माण तथा संचालन गर्न, ट्रान्सपोर्ट नगर स्थापना तथा संचालन गर्न महोत्सव संचालन गरिने भएको छ ।
यसैगरी व्यवसाय संवद्र्धन केन्द्र संचालन कार्यविधि बनाउने र दीर्घकालिनरुपमा व्यवस्थित गर्ने, साना उद्योगी उत्पादनलाई परिक्षण गर्न खाद्य प्रयोगशाला व्यवसाय सम्बद्र्धन केन्द्रमा स्थापना गरी व्यवस्थित गर्ने, संघिय तथा प्रदेश सरकारसंग समन्वय गरी नाप तौल तथा गुणस्तरको कार्य स्थानीय तहमै संचालन गर्न पहल गर्ने उद्देश्यका साथ महोत्सव संचालन गरिन लागेको अध्यक्ष केसीले बताउनुभयो ।
महासंघले महोत्सव संचालनका लागि मेला महोत्सव कार्यविधि बमोजिम २०७९ मंसिर १ गते नै नगरसंग सहमति गरेको र सोहि सहमति अनुसार गत साउन ५ गते नगरलाई अनुमति मागेको थियो ।
त्यस अवसरमा नगरप्रमुख टिकाराम खड्काले नगर कार्यपालिकाको बैठकले महोत्सव संचालनको अनुमतिको निणर्य गर्ने बताउनुभयो । उहाँले यसअघिको सहमति अनुसार महोत्सव संचालनको पालो अहिले महासंघको नै भएको बताउनुभयो । मेला महोत्सव संचालन कार्यविधि अनुसार नै संचालनको अनुमति दिने उहाँको भनाई छ ।
त्यस अवसरमा उद्योग व्यवसायीले तुलसीपुरमा औद्योगिक ग्राम संचालनका लागि तत्काल पहल गर्न नगरप्रमुख खड्कालाई आग्रह गरेका छन् । व्यवसायीले नगरले विद्युत, खानेपानी, सडकको पूर्वाधार निर्माण गरेमा उद्योग स्थापना गर्न तयार रहेको बताएका छन् ॥

