२०८३ बैशाख २० गते आइतवार

लागूऔषध दुव्र्यसन विरुद्ध नयाँ पाइला पुनस्र्थापनाका उपचारार्थीलाई कानुनी शिक्षा



दाङ, ५ पुस ।
नयाँ पाइला पुनस्र्थापना केन्द्रमा उपचार गराइरहेकालाई कानुनी शिक्षा प्रदान गरिएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ हाडिमे बिजौरीमा रहेको केन्द्रमा उपचार गराइरहेकालाई कानुनी शिक्षा प्रदान गरिएको हो ।

केन्द्रमा आज जिल्ला सरकारी वकिल र जिल्ला अदालतका न्यायधिसले उपचारार्थीलाई कानुनी शिक्षा प्रदान गरेको संस्थाका कार्यकारी निर्देशक सुरेश भुषालले बताउनुभयो ।

कार्यक्रममा जिल्ला अदालतका प्रमुख तेजनारायण पौडेलले लागूऔषध नियन्त्रणका लागि कानुनी व्यवस्था रहेकाले कानुन विपरितका कार्य गर्न नहुने बताउनुभयो ।

उहाँले लागूऔषध दुव्र्यसनले स्वयम् व्यक्ति र समाजमा गम्भीर असर पारिरहेकाले रोकथामका लागि सबैको सक्रियता हुनुपर्ने बताउनुभयो । उहाँले युवाहरुमा यसको असर घटाउन जनचेतना कार्यक्रमलाई प्राथमिकता दिन र दोषीमाथि कडा कानुनी कारबाही हुने व्यवस्था रहेको बताउनुभयो ।

यस्तै जिल्ला सरकारी वकिलको कार्यालय दाङका प्रमुख योगेन्द्रप्रसाद ढुंगेलले लागूऔषधका कारण धेरै युवाहरुको भविष्य अन्धकारमा परेको बताउनुभयो । उहाँले लागूऔषध नियन्त्रण ऐनलाई प्रभावकारी बनाउन लागिरहेको बताउनुभयो । उहाँले लागूऔषध कुलतमा लाग्दा स्वास्थ्य र समाज दुवैका लागि खतरायुक्त रहेको बताउनुभयो ।

जिल्ला अदालत दाङका श्रेष्तादार दामोदर घिमिरेले फौजदारी र देवानी मुद्धाबारे जानकारी गराउनुभयो । उहाँले लागूऔषध दुव्र्यसन फौजदारी मुद्धामा पर्ने बताउनुभयो । केन्द्रका सल्लाहकार शैलेश शर्माको अध्यक्षतामा कार्यक्रम भएको हो।

प्रकाशित मिति : २०८१ पुष ५ गते शुक्रवार