२०८१ असोज २७ गते आइतवार

तुलसीपुरमा करेन्ट लागेर एक जनाको मृत्यु



दाङ, ३ कार्तिक ।
तुलसीपुरमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । विद्युत तारबाट ’हुक’ गरी माछा मार्ने क्रममा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ हसनापुर गाउँका २० वर्षीय विपीन बिकको मृत्यु भएको हो ।

बिकलाई बिहिबार दिउँसो साढे ४ बजेतिर क्वाङखोलामा माछा मार्ने क्रममा करेन्ट लागेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार विपीन सोही गाउँका २० वर्षीय सर्वन बुढा, २२ वर्षीय अर्जुन बिक र ४० वर्षीय भोला डिसी सँगै माछा मार्न गएका थिए ।

उनीहरूले खोलामा नांगो तारमा तार बल्झाएर करेन्ट प्रवाह गरी माछा मार्ने प्रयास गर्ने क्रममा विपीनलाई करेन्ट लागेर मृत्यु भएको हो । घटनापछि अर्जुन र भोला फरार छन् । सँगै माछा मार्न गएका सर्वनलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।

बुधबार दिउँसो मात्रै तुलसीपुर – १० पढ्ढाका ३१ वर्षीय तिलक केसीको करेन्ट लागेर मृत्यु भएको थियो । घरको बिजुलीको लाइनमा जोडेर कुलोबाट खेतमा सिँचाइ गर्ने क्रममा केसीलाई करेन्ट लागेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । तुलसीपुरमा दुई दिनमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २०७९ कार्तिक ३ गते बिहिवार