दाङ, ५ कार्तिक ।
छुट्टाछुट्टै सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । कपिलवस्तुमा सशस्त्र प्रहरी चढेको ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।
हिजो साँझ भएको दुर्घटनामा चालक तथा सशस्त्र प्रहरी जवान रमेश चौधरी र स्थानीयवासी अमर तङनामीको मृत्यु भएको हो । दुर्घटनाको क्रममा ट्रकले ठक्कर दिँदा सडकमा हिँडिरहेका स्थानीयवासी तीन जना र ट्रकमा सवार थप तीन जना सशस्त्र प्रहरी जवान घाइते भएका छन् ।
उनीहरूको बुटवल स्थित अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक दीपकबाबु केसीले जानकारी दिनुभयो ।
यसैगरि गोरखाको भिमसेन थापा गाउँपालिका–६ अश्राङमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । धान पराल ओसार्ने क्रममा भएको दुर्घटनामा परि सोहि स्थानका २० वर्षका सुनिल भट्टको मृत्यु भएको हो ।
प्रकाशित मिति : २०७९ कार्तिक ५ गते शनिवार