
दाङ, २३ मंसिर ।
लुम्बिनी प्रदेशमा पछिल्लो चार महिनायता सवारी दुर्घटनाबाट १ सय ६५ जनाको मृत्यु भएको छ । दुर्घटनामा १ सय ७५ जना घाइते भएका हुन् । उनीहरुको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
दुर्घटनामा परी १ सय ९ जना सामान्य घाइते भएका छन् । लुम्बिनी प्रदेशका १२ जिल्लामा भएका सडक दुर्घटनामा धेरै दुर्घटना हुनेमा रुपन्देही जिल्ला पहिलो नम्बरमा देखिएको छ । रुपन्देहीमा गएको चार महिनामा १ सय १४ वटा सवारी दुर्घटना भएका छन् । दुर्घटनाबाट ३८ जनाको मृत्यु भएको प्रहरीको तथ्यांक रहेको छ । दुर्घटनामा परी ६१ जना गम्भीर घाइते भएका छन् भने १९ जना सामान्य घाइते भएका छन् । त्यस्तै, कपिलवस्तु जिल्लामा गत चार महिनामा ६० वटा सवारी दुर्घटना भएकोमा २७ जनाको मृत्यु भएको छ । ४४ जना गम्भीर घाइते भएका छन् । १२ जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।
सोही अवधिमा बाँके जिल्लाभर ५८ वटा सवारी दुर्घटना भएकोमा २२ जनाको मृत्यु भएको छ । २८ जना मानिस गम्भीर घाइते भएका छन् भने १७ जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ । दाङमा ५२ वटा सवारी दुर्घटना भएकोमा १५ जनाको मृत्यु भएको छ ।
३५ जना गम्भीर घाइते भएका छन् । नवलपरासी पश्चिममा २७ दुर्घटना भएकोमा १२ जनाको मृत्यु भएको छ । १४ जना गम्भीर घाइते भएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । बर्दियामा २६ वटा सवारी दुर्घटना भएकोमा ९ जनाले दुर्घटनामा मृत्यु भएको हो । २२ जना गम्भीर घाइते भएका छन् ।
मंसिर महिनाको १९ दिनमा प्रदेशमा ३१ दुर्घटनाबाट बाट २३ जनाको मृत्यु भएको छ भने २६ जना गम्भीर घाइते भएका छन् । तीव्र गतिका कारण सवारी नियन्त्रण हुन नसकेर, ट्राफिक लेनको प्रयोग नगर्दा धेरै दुर्घटना हुने गरेको पाइएको हो ।
पाल्पामा २१ दुर्घटना भएकोमा १२ जनाको मृत्यु भएको छ भने १४ जना गम्भीर घाइते भएको देखिएको छ । प्यूठान मा १६ वटा दुर्घटना भएकोमा १२ जनाको दुर्घटनाबाट निधन भएको हो । ३४ जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।
अर्घाखाँचीमा चार महिनामा १० वटा दुर्घटना भएकोमा तीन जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । रोल्पामा ८ वटा सवारी दुर्घटना भएकोमा ५ जनाको मृत्यु भएको छ । ९ जना घाइते भएको प्रहरीले जनाएको छ । गुल्मीमा ३ वटा दुर्घटना भएकोमा ३ जनाको मृत्यु भएको छ भने पूर्वी रुकुममा ३ वटा दुर्घटना भएकोमा ७ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएको ट्राफिक प्रहरीको तथ्यांक ले देखाएको छ । विशेष गरेर तराई क्षेत्रमा दुई पांग्रे सवारीका साधनबाट धेरै दुर्घटना भइरहेको ट्राफिक प्रहरीको भनाइ छ ।
तीव्र गतिका कारण सवारी नियन्त्रण हुन नसकेर, ट्राफिक लेनको प्रयोग नगर्दा धेरै दुर्घटना हुने गरेको पाइएको हो । लम्बिनी प्रदेशमा कुल ३ सय ९८ दुर्घटना भएकोमा दुई पांग्रे मोटरसाइकल मात्र २ सय ४० रहेको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका सूचना अधिकारी प्रहरी निरीक्षक अमृत भण्डारीले जानकारी दिनुभयो ।
दुर्घटनाको मुख्य कारण भनेको चालकको लापरवाही, सडकको दुरावस्था, तीव्र गति, ट्राफिक लेनको प्रयोग नगर्दा दुर्घटना हुने गरेको उहाँको भनाई छ । दुर्घटना न्यूनीकरण गर्न विभिन्न जिल्लाहरूमा विभिन्न खालका सवारी साधनका चालक तथा सहचालकहरूलाई ट्राफिक नियमबारे पढाउने प्रशिक्षणसमेत गराउँदै आएको समेत उहाँले बताउनुभयो ।